विदेशमा अप्ठयारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको स्वागत, प्रभावकारी कार्यान्वयनका लागि आग्रह

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले सरकारले विदेशमा अप्ठयारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा खुसी ब्यक्त गर्दै सरकारी निर्णयको स्वागत गर्नुभएको छ । विदेशमा अप्ठरोमा परेका नेपालीको उद्धार गर्न सरकारसमक्ष निरन्तरको आग्रहपछि स्वदेश फर्काउने निर्णय गरिएको भन्दै अध्यक्ष पन्तले सरकारी निर्णयको स्वागत गर्नुभएको हो ।

‘उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको छ’, अध्यक्ष पन्तले भन्नुभयो, ‘यस निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दछौँ । साथै, यस कार्यमा सहजीकरणका लागि हामी तत्पर छौँ ।’

त्यस्तै, अध्यक्ष पन्तले गैर आवासीय नेपालीमा अझै केहि दिन धैर्य गर्न अनुरोध गर्दै नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विदेशमा रहेका नेपालीलाई आगामी १० दिनपछि फर्काउन सरकारलाई सिफारिस गरेको हो ।

त्यस्तै, सरकारले बिहीबार संसदमा प्रस्तुत बजेट भाषणमा पनि विदेशबाट नेपालीलाई उद्धार गर्ने कार्यमा गैर आवासीय नेपाली संघको सहायता लिइने उल्लेख गरिएको थियो ।


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार २०:१०