भारतमा सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल : राहुल गान्धी

काठमाडौं : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा लकडाउनको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

उनले भने, ‘सरकारको काम शासन सञ्चालन गर्नु हो, हाम्रो भूमिका विपक्षमा भएकाले सरकारमाथि राम्रो कामका लागि दबाब सिर्जना गर्नु हो । यदि कुनै खतरा छ र त्यसलाई सरकारले नजरअन्दाज गरिरहेको छ भने त्यसबारे ध्यानाकर्षण गराउने हाम्रो काम हो ।’

उनले आफूले फेब्रुअरीमा नै कोरोनाको महामारीबाट ठूलो संकट निम्तिने खतरा औँल्याएको उल्लेख गर्दै साना र मध्यम उद्योगलाई आर्थिक राहत प्रदान नगर्ने हो भने ठूलो नोक्सानी हुने बताएका छन् ।

उनले भने, ‘जुन चेतावनी मैले फेब्रुअरीमा दिएको थिएँ, अहिले पनि त्यही भनिरहेको छु । म पूर्ण सम्मानसहित सरकारसँग आग्रह गर्दछु कि आर्थिक कदम तत्काल चालियोस् । साना उद्योगको रक्षा सरकारले गरोस् । अन्यथा ठूलो नोक्सानी हुनेवाला छ ।’

उनले मोदी सरकारले घोषणा गरेको आर्थिक राहतको प्याकेजले केही पनि नहुने बताए । गान्धीले जनतालाई मासिक रूपमा दिने भनेको रकमको ५० प्रतिशत खातामा राखिदिन र ५० प्रतिशत मात्रै हातमा दिन आग्रह गरेका छन् ।

उनले भने, ‘यदि हामीले सिधै गरिब जनतालाई पैसा दियौँ, मजदुरलाई दियौँ भने बाहिरी देशमा हाम्रो छविमा नकारात्मक असर पर्छ र हाम्रो रेटिङ खराब हुन्छ ।’

उनले सरकारप्रति मजदुरहरू विश्वस्त हुन नसकिरहेको भन्दै उनले भारतको शक्ति बाहिरबाट नभएर भारतभित्रैबाट बन्ने कुरामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  एजेन्सी


प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार २०:४३