कोरोना उपचारपछि एकै परिवारका १८ जना डिस्चार्ज, निको हुनेको संख्या १०५ पुग्यो

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना उपचाररत १८ जना डिस्चार्ज भएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार कोरोना निको भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डा उपाध्यायका अनुसार १८ जना सबै एउटै परिवारका सदस्य हुन्। उनीहरु सबैको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।

डा उपाध्यायका अनुसार उनीहरु सबै अस्पताल नजिकै छपकैयाका हुन्। १८ जनामा ७ जना महिला र अरु पुरुष रहेका छन्। उनीहरु वैशाख २१ गते अस्पताल भर्ना भएका थिए।

अस्पतालबाट यसअघि ९ जना डिस्चार्ज भएका थिए। हालसम्म अस्पतालबाट कोरोना उपचारपछि २७ जना डिस्चार्ज भइसकेका छन्।

नारायणीबाट आइतबार राती निको भएर डिस्चार्ज भएका १८ जना सहित नेपालमा कोरोना निको हुनेको संख्या १०५ पुगेको छ।


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार ०७:३७