कोरोनासँग लड्ने अस्त्र : वैकल्पिक चिकित्सा, सकारात्मक सोच र स्वस्थ जीवनशैली

डा गंगाराज अर्याल

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उपचारमा आधुनिक औषधिसँगै आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली उपयोग गर्ने नीति कार्यान्वयनमा चासो लिएको छ। सयौं वर्षदेखि चलिआएका समयले नै प्रमाणित गरेका औषधिहरु उपयोग गर्ने रणनीति पनि बनाएको छ।

मुलुकभरका स्वास्थ्य संस्था, प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कोभिड–१९ विरुद्ध आयुर्वेद र वैकल्पिक चिकित्सा अन्तर्गत रोकथामसँग सम्बन्धित निर्देशिकासमेत जारी गरिसकेको छ। यसै निर्देशिका बमोजिम अहिले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई लाक्षणिक उपचारमा प्रयोग गरिने आधुनिक ओषधिहरुसँगै आयुर्वेद तथा वैकल्पिक औषधिसमेत उपयोग गर्न सल्लाह दिँदैै वैकल्पिक चिकित्साविज्ञहरुले दिनहुँ योग गराउनुका साथै गुडुची र त्रिकुटुको चिया समेत दिन थालेका छन्।

यस अन्तर्गत रोग प्रतिरोधक क्षमता बढाउने, श्वास–प्रश्वास प्रणाली बलियो बनाउनुका साथै कोरोना भाइरस संक्रमणमा देखिने घाँटीको खसखस र सुख्खा खोकी लगायतका लाक्षणिक चिकित्सामा उपयोगी हुने आयुर्वेदिक औषधिहरु आधुनिक चिकित्सा सँगसँगै उपयोग गर्ने नीति रहेको छ।

हाल सरकारले अस्पतालमा भर्ना भएका कोभिडका सामान्य बिरामीलाई ‘त्रिकुटु’ अर्थात् सुठो, मरिच, पिप्ला गरी तीन वटा औषधिमा गुडुची मिसाएको काढा (चिया) सेवनमा प्राथमिकता दिएको छ। यस्तै अश्वगन्धा पाउडरलाई यष्ठीमधुमा मिसाएर नियमित सेवन गर्न दिइने प्रस्तावलाई स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृति दिनासाथ स्वास्थ्य मन्त्रालयले पारित गर्ने छ।

भारतमा समेत कोभिडका बिरामीलाई अश्वगन्धा, गुडुची यष्ठीमधु, पिप्लीको उपयोग गर्न आयुर्वेद विभाग, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक तथा चिकित्सकले सल्लाह दिन्छन्। भारतका केही प्रदेशमा उपयोग गरिएको गुडुचीको चिया र त्रिकुटुको चिया नेपालमा हजारौं वर्षदेखि उपयोग भइरहेका र समयमै परीक्षण गरिएका हुन्।

यस्ता परम्परागत औषधि र प्रक्रियाले रोग प्रतिरोधक क्षमता वृद्धि गर्छन्। कम्तीमा गुडुची, तुलसी, यष्ठीमधु, बेसार, त्रिकुटु नियमित उपयोग गरेमा सम्भावित कोरोना संक्रमणविरुद्ध प्रतिरोधक शक्ति प्राप्त हुनुका साथै विभिन्न संक्रमणविरुद्ध निरन्तर शक्ति प्राप्त भई भाइरसविरुद्ध लड्ने क्षमता वृद्धि भएर सम्भावित जटिलता कम हुन्छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड–१९ को संक्रमण निदानका लागि अध्ययन–अनुसन्धान गर्न भारत सरकारको आयुष (आयुर्वेद) मन्त्रालयसँग समन्वय गर्ने भएको छ। चीनले पनि कोरोना संक्रमितलाई आयुर्वेद औषधि प्रयोग गर्दै अन्य मुलुकमा पनि प्रयोग गर्न सल्लाह दिएको थियो।

देशको अनुसन्धान निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –नास्ट), आयुर्वेद अनुसन्धान केन्द्र, औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लगायतका निकायसँग आयुर्वेद विभागले कोभिड–१९ विरुद्ध उपचारात्मक बचाउ अध्ययन अनुसन्धानमा समन्वय गरेर अघि बढ्ने निर्णय समेत गरेको छ।

वैकल्पिक चिकित्सा सम्बन्धी सरकारी नीति/रणनीतिः
–  आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रुपमा विकास र विस्तार गरिने छ।
–  संघीय संरचना अनुरुप आयुर्वेद चिकित्सा सम्बन्धी तहगत संस्थाहरुको योजनाबद्ध विकास तथा विस्तार गरिने छ।
– योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथिक, युनानी, अकुपञ्चर लगायत अन्य चिकित्सा पद्धतिलाई संघीय संरचना अनुरुप स्थानीय तहसम्म विकास तथा विस्तार गरिने छ।
–  स्थानीय स्तरमा उपलब्ध औषधिजन्य जडिबुटी, खनिजजस्ता द्रव्यको पहिचान, संरक्षण, संकलन, प्रबर्धन गर्दै आयुर्वेद चिकित्सामा वैज्ञानिक अनुसन्धान तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृद्धि गरिने छ।
– प्रचलित तथा परम्परागत चिकित्सा सेवाहरुलाई निश्चित मापदण्डका आधारमा सूचीकृत, व्यवस्थित तथा नियमन गरिने छ।
– आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्साको विशिष्टीकृत सेवा सहितको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्रको स्थापना गरी यी क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याउने गरी क्रमशः संघीय संरचना बमोजिम विस्तार गर्दै लगिने छ।
– आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान र आयुर्वेद विश्व विद्यालयको स्थापना गरी आयुर्वेद विज्ञान र प्राकृतिक चिकित्सा प्रणालीको अध्ययन, उपचार र अनुसन्धान गरिने छ।

स्वास्थ्य शिक्षा सन्देश प्रवाह अभियान
– कोरोना भाइरस संक्रमण जस्तो जनस्वास्थ्यका सवालमा हरेक नागरिकलाई सचेत र सक्षम बनाउनेतर्फ पर्याप्त तयारी गरिनुपर्छ। आपतकालीन अवस्थामा राज्यलाई जिम्मेवारी निर्वाहमा सचेत गराउने व्यक्ति वा समूहको खाँचो हुन्छ। त्यस्ता पदाधिकारी वा विज्ञको समूहले राज्य संयन्त्रले पर्याप्त ध्यान दिन नसकेको अवस्थामा सचेतना प्रदान गरी ठूलो मानवीय एवं आर्थिक क्षति हुनबाट बचाउन सक्छन्। यसका लागि विभिन्न स्वास्थ्य शिक्षा तथा सञ्चार सामग्री एवं कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्न स्वास्थ्य, शिक्षा, सञ्चारमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्य प्रबर्धन विज्ञको रोस्टर बनाई टोलीको रुपमा तीन वटै सरकारमा काम गर्ने गरी खटाइनु पर्छ।

– नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनद्वारा सरकारी/निजी स्वास्थ्य सेवामा रहेका र सेवा निवृत्त जनस्वास्थ्य प्रबर्धन विज्ञहरुलाई महामारी एवं विपद्को जोखिम व्यवस्थापनमा स्वास्थ्य सञ्चारको महत्वबारे तालिम प्रदान गरिएको छ भने सरुवा रोग महामारीमा उपयोग गर्न सकिने निर्देशिका तयार गरिएको छ। त्यसकारण सो तालिमका सहभागी (विज्ञ)हरुको रोस्टर बनाई हरेक प्रदेश तथा जिल्लामा परिचालन गर्न सक्नुपर्छ।

कोरोना संक्रमण रोकथाममा जीवनशैली
स्वस्थ जीवनशैलीले स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँछ। किनभने हाम्रो समग्र स्वास्थ्य अवस्था दैनिक खानपान, शारीरिक÷मानसिक व्यायाम, बानी, व्यवहार जस्ता जीवनशैलीमा आधारित छ। उदाहरणका लागि हामीले दिनहुँ कम्तीमा आधा घन्टा शारीरिक व्यायाम गर्दा स्वच्छ अक्सिजन प्राप्त हुन्छ, दिनभरि शरीर फुर्तिलो बन्छ, भोक लाग्छ, खाएको खाना पच्छ र शरीरमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ भने मनमा अनेक कुरा खेल्न नपाई आनन्द प्राप्त हुन्छ।

व्यायामः शारीरिक व्यायामका लागि बिहान उठेपछि खाली पेट, हलुका कपडा र सकेसम्म कपडा वा खेलकुदका जुत्तामा सरासर कतै नरोकिई एकतर्फी २ देखि ३ किलोमिटर हिँड्ने। त्यसपछि निवास फर्केपछि वयस्क व्यक्तिले २ देखि ३ स्टिलको गिलासभरि (१ लिटर) पानी पिएपछि कालो चिया, कफी पिउन सकिन्छ। यदि योग तथा व्याडमिन्टन, टेबुलटेनिस, जिम वा अन्य खेलकुद गर्न मन लागे गर्न सकिन्छ। त्यसपछि पत्रपत्रिका पढ्ने, निवास तलमाथि, करेसा वरिपरि हिँड्ने, तरकारी, फलफूलका बिरुवा लगाउने, झारपात उखेल्ने आदि काम गर्नु अत्यन्त राम्रो हुन्छ। लकडाउनको अवधि वा अन्य जुनसुकै परिस्थितिमा यत्ति व्यायामले मेरो स्वास्थ्य राम्रै रहेको मेरो अनुभव छ।

खानपानः कोरोना भाइरस संक्रमण वा कुनै पनि रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्नुमा हाम्रो जीवनशैली अन्तर्गत खानपानको ठूलो भूमिका रहन्छ। शरीरभित्र रोग प्रतिरोध शक्ति भएमा रोगले आक्रमण वा संक्रमण गर्न सक्दैन। त्यसकारण बजारका भिटामिन लगायतका पौष्टिक पदार्थको साटो हाम्रो घर वरिपरि पाइने नित्य खाने विभिन्न सफा र स्वच्छ खानेकुरामा ध्यान दिनै पर्छ।

– बिहानको खानामा दाल, भात वा रोटी खान सकिन्छ। मधुमेहका बिरामीले पुरानो वा उसिना (ब्राउन राइस)को भात खान सकिन्छ। तर बेलुकाको खानेकुरा बिहानभन्दा हलुका हुनैपर्छ। मधुमेहका बिरामीले बेलुका भातको साटो गहुँको रोटी, ब्राउन राइसजस्ता कार्बोहाइड्रेट कम भएका परिकार खान सकिन्छ।

– तरकारीः गेडागुडी (अंकुरित गेडागुडी) को झोल, दूध, दही, मौसम अनुसारको हरिया तरकारीहरु जस्तैः ब्रोकाउली, लौका, भिन्डी, तितेकरेला, मुला, मेवा, फर्सी, खुर्सानी, कर्कलो, सिमी, बोडी लगायतका तरकारी खानुपर्छ। झोलिला खानेकुरामा जोड गर्नुपर्छ र उमालेको पानी प्रशस्त मात्रामा (दिनहुँ कम्तीमा ३ लिटर) विस्तारै पिउनु पर्छ।

– हरेक दिनको खानेकुरामा तोरी, पालुंगो, फर्सीको मुन्टा, रायो, मेथी, लुँडे, बेथे, रायोजस्ता हरिया सागपात रहनु अत्यन्त महत्वपूर्ण हुन्छ। किनभने यस्ता हरिया सागपातमा शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, आइरन, ओमेगा–३, एन्टिअक्सिडेन्टजस्ता तत्व पाइन्छन्।

– फलफूलः हरेक दिनको खानापछि मौसम अनुसार पाइने फलफूल  खानु अत्यन्त जरुरी हुन्छ। अझ महत्वपूर्ण फलफूलमध्ये स्याउ, केरा, सुन्तला, मौसम, चुकन्दर, अम्बा, मेवा, अनार, एभोकाडो, बयर, कटहर (भुई/रुख), काफलजस्ता फलफूल खानु वाञ्छनीय हुन्छ। मधुमेहका बिरामीले पनि स्याउ र मौसमजस्ता कम गुलिया फलफूल दिनहुँ एक/एक वटा खानुपर्छ।

– सुख्खा फलफूल/पदार्थमा काजु, किसमिस, पेस्ता, ओखर, फर्सीका बियाँजस्ता पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने सबै किसिमका भिटामिन ए, डी, ई, के र बी कम्प्लेक्स, क्याल्सियम, फलाम, ओमेगा–३, एन्टिअक्सिेडेन्ट पदार्थ पाइन्छन्।

– मसलाजन्य बेसार/हलेदो, मेथी, मरिच, टिमुर, जिरा, धनिया, अदुवा, कागती, लसुन, प्याज, अंकुरित गेडागुडीजस्ता पदार्थमा रोग प्रतिरोधात्मक शक्ति पाइन्छ। यसको फलस्वरुप हामीलाई सकेसम्म कोरोना भाइरसलगायत अरु रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ। बेसार÷हलेदो प्रतिजैविक पदार्थसमेत भएकोले बेलुका सुत्नुअघि तातो दूधमा बेसार खानु अति वाञ्छनीय हुन्छ।

– सलादजन्य खाद्य पदार्थ मुला, गाजर, कांक्रो लगायतका पदार्थमा प्रशस्त मात्रामा भिटामिन, आयोडिन, फलाम, ओमेगा–३, एन्टिअक्सिडेन्टजस्ता सूक्ष्म पोषक तत्व पाइन्छन्। यस्ता तत्वले रोग प्रतिरोधक शक्तिका साथै निरोगी जीवन एवं आयुसमेत बढाउँछन्। दही प्रतिजैविक पदार्थ भएको र यसले खानामा रुचि बढाउनुका साथै यसमा हामीलाई आवश्यक सबै महत्वपूर्ण पदार्थ पाइन्छन्।

– माछा, मासु, अन्डापनि खान सकिन्छ। एक दिनमा एक जनाले मासु प्रतिछाक ४० ग्राम, माछा १०० ग्राम अनि अन्डा २ वटाको दरले एक दिनको फरकमा हप्तामा ६ वटासम्म खान सकिन्छ। तर यस्ता खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ।

– जीवनशैली अन्तर्गत सकारात्मक सोच समेतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका रहन्छ। शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सकारात्मक सोच राखी उच्च मनोबलका साथ भविष्यप्रति आशावादी हुुनु अत्यन्त आवश्यक हुन्छ। यसका लागि परिवार, समाज, छरछिमेकी, आफन्तजन, साथीहरु, शुभेच्छुकसँग सञ्चार माध्यमबाटै भए पनि सम्पर्क राख्नुपर्छ। विभिन्न पत्रपत्रिका, किताब पढ्ने, रेडियो, टिभी हेर्ने, गीत गाउने, नृत्य गर्ने गर्नुपर्छ। यस्ता क्रियाकलापले मनमस्तिष्कमा सकारात्मक सोच सिर्जना हुन्छ।

त्यसकारण बजारमा पाइने कुनै पनि तयारी खाद्य पदार्थको साटो हाम्रो घर वरिपरि भएका वा बजारबाट किनेर ल्याउन सकिने खाद्य पदार्थ उपयोग गरेको खन्डमा कोरोना भाइरस लगायत अन्य सबैजसो रोग प्रतिरोधी क्षमता बढाउँछन्। स्रोत -स्वास्थ्य खवर


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार १२:०५