साउदीमा कोरोना संक्रमीत १३ सय ६४ नेपालीहरु मध्ये आधा भन्दा बढी निको भई घर फर्के

काठमाडौं: साउदीमा कोरोना संक्रमित नेपालीको संख्या १३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये १७ जना महिला रहेका छन् ।  राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली संक्रमित भएका छन् ।

जेद्दा क्षेत्रमा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको साउदी स्थित नेपाली राजदूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । कोरोना संक्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरुको विवरण संकलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ ।

धेरै नेपालीहरुले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाई छ । उक्त फारम नेपाली राजदूतावासको वेभसाइट मा गई फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले जानकारी गराएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि बिहिवार सम्म ६५हजार ७७ जना संक्रमित भएका छन् ।

संक्रमितहरु मध्ये आधा भन्दा बढी निको भई घर फर्केका छन् । साथै मृत्युदर पनि न्यून रहेको पाइएको दूतावासले बताएको छ । साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको पालन गर्न साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध छ ।


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १३:१८