धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युको विषयमा थप अध्ययन हुँदै : स्वास्थ्य मन्त्रालय

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जानकारी दिएको छ।

अस्पतालमा उपचारका लागि ल्याइएकी सुत्केरीको शुक्रबार राती मृत्यु भएको थियो। श्वासप्रस्वासमा समस्या आएकी उनको मृत्यु कोरोनाका कारण भएको भन्दै हल्ला चलेको थियो। तर मन्त्रालयले कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयको नियमीत कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा देवकोटाले सुत्केरीको मृत्युका विषयमा मन्त्रालयले आवश्यक परीक्षण गरिरहेको जानकारी दिनुभएको हो ।

देवकोटाका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएकी ती सुत्केरीले गत वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। उनी २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या आएपछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो।

समस्या जटिल भएपछि उनलाई धुलिखेल ल्याइएको थियो। तर उनको अस्पताल पुग्नै लाग्दा मृत्यु भएको बताइएको छ। उनको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम भइसकेको र परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिनुभयो ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १७:०९