कोभिड साम्य भएलगत्तै लोकसेवा परीक्षा

 काठमाडौं : लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमेगाईंले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन् । पहिलो चरणमा परीक्षा भएका र आयोगले फाराम बुझेका सबै परीक्षा नियमित रूपमै हुने हुमेगाईंले जानकारी दिइन् । ‘फाराम रद्द होइन, स्थगित गरिएको हो,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

सरकारले अर्को व्यवस्था नभएसम्मका लागि लोकसेवाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै लोकसेवा तयारी गरेर बसेका धेरै परीक्षार्थी अन्योलमा थिए । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई पदपूर्तिसम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

हुमेगाईंका अनुसार लोकसेवाको वार्षिक तालिकाअनुसार खुलाउनुपर्ने पदको विज्ञापन भने नखुल्ने भएको छ । अब खुलाउने विज्ञापनमा भने सरकारसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रवक्ता हुमेगाईंले जानकारी दिइन् । ‘यस विषयमा आयोगमा छलफल भइरहेको छ,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

कोभिड–१९ का कारण नेपालको आर्थिक अवस्था कमजोर हुने र खर्च धान्न मुस्किल पर्ने भएकाले कर्मचारी भर्नाका सबै प्रक्रिया रोक्नुपरेको जनाइएको छ । चालू खर्च घटाउन कर्मचारी थप्ने प्रक्रिया रोकिएकाले नयाँ भर्ना प्रक्रिया भने अनिश्चित बनेको छ ।

आयोगकी प्रवक्ता हुमेगाईंका अनुसार वार्षिक कार्यतालिकाअनुसार सबैको विज्ञापन भइसकेकाले ती परीक्षा रोकिनेछैन तर प्राविधिक खरिदारको विज्ञापन हुन बाँकी रहेकाले त्यसको परीक्षा भने नहुने आयोगले जनाएको छ ।

त्यसैगरी, संस्थान र अन्य निकायको परीक्षा पनि स्थगित गरिएको हुमेगाईंले जानकारी दिइन् । हुमेगाईंले विज्ञापन भएर फाराम भरिसकेकालाई लकडाउनको समयमा तयारी गरेर बस्न पनि अनुरोध गरिन् । ‘महामारी कहिले शान्त हुने हो, कसैलाई थाहा छैन, त्यसैले अन्योल जस्तो भए पनि परीक्षाको तयारीमा भने लगातार लाग्दा राम्रो हुन्छ,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लकडाउनका बेला कर्मचारी परिचालन गर्न नसकिएको अवस्थामा नयाँ भर्ना रोकिँदा कुनै समस्या नपर्ने बताए ।  आजको राजधानी दैनीकबाट


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार ०७:४६