गोरखा जिल्ला पाँच दिनको लागि सिल

गोरखा : गोरखा जिल्ला पाँच दिनको लागि सिल गरिने भएको छ । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समितिको बैठकले यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको हो । बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ। बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने बैठकले निर्णय गरेको हो ।

अस्पतालबाट सिफारिस भएका बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने निर्णय भएको हो ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार १५:५०