टेकुमा कोरोना परीक्षण गराउनेको भीड, बुधबार मात्र ५ सय ३० बढी अस्पताल पुगे

काठमाडौं : काठमाडौं उपत्यकामा तीन जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबार दिउँसो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षणका लागि बाक्लो भीड लागेको छ । अस्पतालमा बिहान ९ बजेदेखि सुरु भएको भीड दिउँसो ३ बजेसम्म त्यत्तिकै देखिन्थ्यो ।

अस्पतालले भीडलाई व्यवस्थापन गर्न  दुई वटा लाईन बनाएको थियो । त्यो लाईन अस्पताल प्रवेश गर्ने गेटसम्म पुगेको थियो। परीक्षणका लागि जानेमध्ये अधिकांश बाहिर जिल्लाबाट काठमाडौं आएकाहरु रहेको पाइएको छ ।

अस्पतालका अनुसार कोरोना परीक्षणका लागि मंगलबारसम्म दैनिक २ सयको हाराहारीमा हुने गरेकोमा यो संख्या बुधबार दोब्बरले बढेको छ । बुधबार करीब ५ सय ३० पुगेको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी गराउनुभयो । जसमध्ये करीब ३ सय जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।

अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाका अनुसार अस्पताल आउने सबै जनाको कोरोना परीक्षण गर्न आवश्यक नरहेको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि आउनेमध्ये अधिकांश बाहिरका रहेकोमा धेरैजसो जनकपुर, सप्तरी, धादिङ, काभ्रे लगायत जिल्लाका रहेको प्रवक्ता बाँस्तोलाले बताउनुभयो ।

तस्विर : सिलापत्रको सहयोगमा


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १९:५०