नेपालमा हालसम्म ५० हजार बढीको कोरोना परीक्षण, १७ हजार क्वारेन्टाइनमा

काठमाडौं : कोरोनाको आशंकामा नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र दुई नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थपिएका २ जनासहित नेपालमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ जना निको भएर डिस्चार्ज भइसकेका छन्। अन्य संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म पिसिआरबाट ९ हजार ९ सय ३१ र आरडिटिबाट ४१ हजार ४ सय ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१, बागमतिमा ७ हजार ५ सय ९१, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिममा ११ हजार १ सय ७२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ को ८ जिल्लामा १५ सय बढी नमूना संकलन गर्ने भनिएकोमा हालसम्म १ हजार २७ जनाको नमूना संकलन भई परीक्षण भइरहेको छ। उदयपुरमा ३ सय ३७ र झापामा ५० जनाको नमूना संकलन भएको देवकोटाले जानकारी दिनुभयो ।

मुलुकभर हाल १७ हजार २५ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ३ हजार ९ सय २, बागमतिमा ४ हजार ६ सय ३६, गण्डकीमा ३ हजार ६ सय ५७, प्रदेश ५ मा १३ हजार १ सय १९, कर्णालीमा ५ हजार ४ सय ८० र सुदुरपश्चिम प्रदेशमा ५ हजार ९ सय ५१ क्वारेन्टाइनमा छन्।

काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी कुल १ सय १० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १४ बैशाख २०७७, आईतवार १७:३९