प्रवासी नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह-अप्रिल महिनाभरि धैर्यतापूर्वक बस्नूस, त्यसपछि परिस्थिति हेरी निर्णय लिन्छौ

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले विदेशमा रहनुभएका नेपालीबारे परराष्ट्रमन्त्रीसँग वार्ता गर्नुभएको छ । अध्यक्ष पन्तले विभिन्न मुलुकमा रहनुभएका नेपालीको अवस्थाका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो कुराकानी गर्नुभएको हो ।  अध्यक्ष पन्तले धेरैजसो नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेकोबारे मन्त्री ज्ञवालीलाई अवगत गराउँदै उहाँहरूलाई उद्दार र राहत पुर्‍याउने विषयमा पनि छलफल गर्नुभएको थियो ।

विभिन्न मुलुकमा रहनुभएका नेपालीको बारेमा आफूले पनि दूतावास लगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको उहाँले बताउनुभयो ।

साथै, ज्ञवालीले खाडीलगायत मध्यपूर्वका मुलुकमा रहनुभएका नेपालीलाई कुनै सर्त नराखी समान व्यवहार गर्न आग्रह गरेको र त्यसमा सम्बन्धित मुलुकका सरकारले पूर्ण सहमति जनाएको जानकारी पनि उहाँले दिनुभयो ।साथै ज्ञवालीले यो अप्रिल महिनाभरि जो जहाँ छौँ, धैर्यतापूर्वक त्यहीँ रहन आग्रह गर्दै उहाँले त्यसपछि परिस्थितिको जटिलता हेरी निर्णय गर्ने बताउनुभएको छ ।

अध्यक्ष पन्तले भन्नुभयो, ‘आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन नदिने विश्वास पनि उहाँले दिलाउनुभएको छ । तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहनुभएका नेपालीलाई सहायता पुर्‍याउने समझदारी पनि बनेको छ ।’

‘धेरै मुलुकमा दूतावास र गैरआवासीय नेपाली संघ समेतको पहलमा सहायता पुर्‍याउने काम भइरहेको पनि छ । यसलाई थप प्रभावकारी बनाउँदै उद्दारका काम पनि समन्वयमा गर्न हामी सहमत भएका छौँ,’ अध्यक्ष पन्तले भन्नुभयो, ‘जो जहाँ छौँ, सतर्क र सुरक्षित रहौँ । सहयोग आवश्यक परे दूतावास वा आईसीसी सचिवालय, एनसीसी एवं फोकल पर्सनलाई सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’


प्रकाशित | २ बैशाख २०७७, मंगलवार १६:२८