अब एनआरएनएको कोरोना कोषमा संकलीत रकम विदेशमा बस्ने नेपालीहरुको लागी मात्र खर्च गरिने

क्षेत्रीय समितिमार्फत उठेको रकम क्षेत्रभित्रै खर्च गर्नुपर्ने

काठमाडौं : अब गैर आवासीय नेपाली संघ (एनआरएनए ) को कोरोना राहत कोषमा संकलीत रकम विदेशमा बस्ने नेपालीहरुको लागी मात्र खर्च गरिने भएको छ । संघले नेपाल सरकारलाई कोरोनाबाट बच्ने सुरक्षाका सामाग्री र कोरोना जाँच्ने उपकरण प्रदान गर्ने प्रवन्ध मिलाईएको बाहेकको रकम बाहिर बस्ने नेपालीहरुको लागी खर्च गरिने भएको हो ।

एनआरएनएको केन्द्रीय पदाधिकारी बैठकले कोरोना राहत कोष सम्बन्धी पारित गरेको कार्याविधिमा उल्लेख गरिए अनुसार कोषको रकम संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री, दैनिक जिविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएमा अन्त्यष्टी, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने लगायत शिर्षकमा सहयोग गर्न सकिनेछ । संक्रमणको विकसित अवस्था र संकलित रकमको अवस्था हेरी यस सम्वन्धि विस्तृत कार्यविधी निर्माण गरिने उल्लेख छ।

साथै, क्षेत्रीय समितिमार्फत उठेको रकम क्षेत्रभित्रै खर्च गर्नुपर्ने भएको छ । एनआरएनएको क्षेत्रगत रुपमा बनेका समितिहरुको पहलमा उठेको रकम सम्वन्धित क्षेत्रमा रहेका पिडित नेपालीहरुका सहयोगको लागि खर्च गर्नु पर्ने भएको हो । क्षेत्रीय समितिको संयोजक क्षेत्रीय संयोजक वा निजले तोकेको व्यक्ती राहत संकलन समिति संयोजक हुन पाउँने भएको छ ।  कुनै एक क्षेत्रबाट अर्को क्षेत्रमा रकमान्तर गर्न परेमा पदाधिकारीको बैंठकले निर्णय गर्नुपर्नेछ ।

पारित गरिएको कार्याविधिमा भनीएको छ, ‘आवश्यकता अनुसार कोष संकलन गर्नका लागि कोषाध्यक्ष संयोजक रहेको मूल समिति अन्तरगत क्षेत्रीय स्तरमा समितिहरु निर्माण गर्न सकिनेछ । एउटा क्षेत्रमा एउटा मात्र क्षेत्रीय समिति रहनेछ । तर रकम संकलन दाताहरुबाट सिधै अन्तर्राष्ट्रिय समितिले व्यवस्था गरेको बैंकखाता वा अनलाईन प्रणालीबाट गर्नु पर्नेछ । छुट्टै बैंक खाता वा व्यक्तीको बैंक खातामा जम्मा गर्न पाईने छैन् । क्षेत्रीय समितिको संयोजक क्षेत्रीय संयोजक वा निजको तोकेको व्यक्ती हुनेछ ।’

अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोष एक अर्काका परिपुरक भएकाले दाताहरुले ईच्छा अनुसार एक वा दुबै कोषमा सहयोग गर्न सकिने भएको छ ।

त्यस्तै, कार्याविधिमा भनीएको छ, ‘संघका पदाधिकारी वा संघमा संलग्न व्यक्तीहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोषमा सहयोग गर्नु कर्तब्य हुनेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदले गरेको  व्यवस्था बाहेक संघ वा संघको विभाग, समिति, उपसमिति वा कार्यदलको नाममा छुट्टै किसिमले सहयोग रकम संकलन गर्न पाईने छैन्।’

कोरोना कोषमा रकम बाँकि रहेमा सो रकम अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिने भएको छ । राष्ट्रिय समन्वय परिषदले उठाएको रकम राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ ।


प्रकाशित | २८ चैत्र २०७६, शुक्रबार १४:३०