एनआरएनलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष कुल आचार्यले सबै मुलुकहरुमा रहेका एनआरएन तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध गर्नुभएको छ ।

आचार्यले समाजीक सञ्जालमा एक बिज्ञप्ति जारी गर्दै कोरोना संक्रमण रोक्न आआफ्नो तर्फ बाट सक्दो योगदान गर्न सबै गैर आवासीय नेपालीहरु तत्पर रहेको र लागिपर्न समेत सबैमा आग्रह गर्नुभएको छ ।  आचार्यले जारी गर्नुभएको विज्ञप्ति जस्ताको तस्तै :-

‘नेपालीकालागि नेपाली’

साथीहरु, नमस्कार।

कोरोना भाइरस संक्रमणको खतराले संसारभरि रहेका नेपालीहरुलाई प्रभावित पारेको छ। यहां बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा हुनुहुन्छ भने भाषाको समस्या पनि भोगी रहनु भएको छ। इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेका छन्। यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य हो। पुण्यकर्म पनि हो। त्यसैले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन म अनुरोध गर्दछु।

विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरुलाई कुनै पनि समस्या परे सम्बन्धित मुलुकहरुमा रहेका नेपाली दूतावासहरुसंग समन्वय गर्नु हुन र केहि समस्या भए इनबक्स गर्नु हुन पनि म अनुरोध गर्दछु।

कोरोना भाइरस संक्रमण रोक्न र अनावश्यक भ्रमण नगर्न हामी सबै सचेत रहौं । यसै सन्दर्भमा नेपाल सरकारले गत साता जारी गरेको सूचनामा ‘एक साता अगाडी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने’ प्रावधान अव्यावहारिक छ ।

नेपाल र नेपालीको अहित हुने काम हामी सपनामा पनि सोच्न सक्दैनौं। कोरोना संक्रमण रोक्न आआफ्नो तर्फ बाट सक्दो योगदान गर्न सबै गैर आवासीय नेपालीहरु तत्पर छन्। तर कोरोनाको नाममा नेपाल भ्रमण रोक्न खोज्नु दुखद छ। नेपाल सरकारलाई यो निर्णयबारे तत्काल पुनर्विचार गर्न पनि म आग्रह गर्दछु ।


प्रकाशित | २ चैत्र २०७६, आईतवार २१:४४