बेलायतबाट नयाँ मिडिया सञ्चालनको तयारी

लन्डन : लन्डनस्थित नेपाली पत्रकारहरुको एउटा समूहले नयां अनलाइन न्यूज पोर्टल सञ्चालनको तयारी गरेको छ । नेपाली लिंक लिमिटेडले नेपाली नयां वर्ष २०७७, बैशाख १ गते देखि ‘नेपाली लिंक डटकम’ सञ्चालन गर्ने भएको हो ।

बेलायतमा व्यवसायिक पत्रकारिताको अभाव खट्किरहंदा नेपालका राष्ट्रिय मिडियाहरुमा कार्यरत अनुभवी पत्रकारहरुको समूहले अनलाइन शुरु गर्न लागेको हो ।

उक्त टिममा लामो समयदेखि पत्रकारितामा क्रियाशिल कान्तिपुरका लागि बेलायत संवाददाता नवीन पोखरेल, अन्नपूर्ण पोष्टका बेलायत संवाददाता ध्रुवराज अर्याल, रातोपाटीका बेलायत संवाददाता नरेन्द्र बस्नेत लगायत संलग्न छन् ।

‘विदेशस्थित नेपालीहरुको प्रतिनिधिमुलक आवाज बन्न हाम्रो कोशिस रहनेछु, नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेलले भने, ‘बेलायतका गतिविधिबाहेक मल्टी मिडिया र अंगेजी सामग्रीलाई समेत प्राथमिकता दिने हामो योजना छ ।’

को-को छन् टीममा ?

नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेल मुलधारको नेपाली पत्रकारितामा विगत डेढ दशकदेखि नियमित क्रियाशिल छन् । कान्तिपुर दैनिकका बेलायत संवाददाता उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् । उनी कान्तिपुर टेलिभिजनमा पनि आबद्ध छन् । यसअघि बेलायतबाट संचालित अनलाइन पोर्टल वीनेपाली डट कममा प्रधानसम्पादक रहेका पोखरेल त्यसअघि लामो समय युरोपको नेपालीपत्रका पनि सम्पादक हुन् ।

विशेष गरि मानवीय चासो र विकृति विसंगतिबारे रिर्पोटिङ गर्न चासो राख्ने पोखरेल आफ्नो व्यवसायिक दक्षता, मिलनसार र इमान्दारिताले बेलायतस्थित नेपाली समुदायमा स्वच्छ छवी बनाउन सफल पत्रकार मानिन्छन् ।

त्यस्तै, नेपाली लिंकका सम्पादक तथा निर्देशक ध्रुवराज अर्याल पनि बेलायतका स्थापित पत्रकार हुन् । बेलायतमा रहेर एक दशक भन्दा लामो समय सक्रिय पत्रकारिता गरेका अर्याल अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका बेलायत संवाददाता छन् ।

यसअघि उनले लामो समय बेलायतबाट प्रकाशित नेपालीपत्रको सम्पादकको जिम्मेवारी सम्हालेका थिए । एबिसी टेलिभिजनबाट पत्रकारिता शुरु गरेका उनले नेपाली टिभी यूकेमा समेत केहि वर्ष काम गरेका थिए । पत्रकार महासंघ यूकेमा अहिले उनी वरिष्ठ उपाध्यक्ष छन् ।

नेपाली लिंकका मल्टिमिडिया सम्पादक नरेन्द्र बस्नेत पनि अनलाइन तथा रेडियो पत्रकारितामा अनुभवी छन् । रातोपाटी अनलाइनका बेलायत संवाददाता बस्नेत बेलायतबाट संचालित गोर्खा रेडियोका संचालक पनि हुन् । पत्रकार महासंघ यूकेमा उनी उपमहासचिव छन् ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १५:३८