नेपाल भ्रमण वर्ष स्थगित, अन-अराइभल भिसा नदिने मन्त्रिपरिषद निर्णय

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भ्रमण वर्ष स्थगित गरिएको हो । अब सरकारले अर्को सूचना जारी नभएसम्मका लागि भ्रमण वर्ष स्थगित गर्दै अन अराइभल भीसा समेत नदिने निर्णय गरेको छ ।

आगामी फागुन २४ गतेबाट अन-अराइभलु भिसा स्थगित गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी गराए ।  उनका अनुसार, कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने छ।

विशेषगरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण देखिएकाले सीमामा कडा निगरानी गरिएको छ । विश्वभर पर्यटक आवागमन पनि घटेको छ ।

सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, कोरोना भाइरसको त्रासले विश्वभर पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।


प्रकाशित | १८ फाल्गुन २०७६, आईतवार २२:५५