एनआरएनए हङकङद्धारा ७ हजार मास्क निःशुल्क वितरण, चाईनीजहरुको बाक्लो सहभागिता

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना भाइरसबाट सुरक्षित रहन ७ हजार सर्जिकल मास्क निःशुल्क वितरण गरेको छ ।

एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ नेपाल रहनु भए पनि नेपालबाट मास्क पठाएर आज हङकङमा उपाध्यक्ष तथा भुपू अध्यक्ष, अन्य कार्यसमिति तथा आइसिसी सदस्यसहितको टोलीले मास्क वितरण गरेको हो । सो अवसरमा ह्याण्ड रव ३ सय पिस पनि वितरण गरिएको छ ।

अध्यक्ष गुरुङका अनुसार आज ३ सय ५० जनालाई प्रति ब्यक्ती २० पिसका दरले मास्क वितरण गरिएको छ । एनआरएनए हङकङको कोषबाट खर्च गरेर सो मास्क वितरण गरिएको हो भने नेपाल एयरलायन्सले सो मास्क हङकङमा निशुल्क पुर्याउन समेत सहयोग गरेको थियो ।

कोरोना भाइरसबाट हङकङ लगायतका देशहरु प्रभावित भइरहेको सन्दर्भमा एनआरएनए हङकङले सर्जिकल मास्क निःशुल्क वितरण गरेपछि वितरण कार्यक्रममा नेपाली भन्दा बढी हङकङमा रहेका चाइनीजहरुको सहभागिता थियो ।

स्थानीय प्रहरी प्रशासनको रोहवरमा वितरण गरिएको मास्क वितरण कार्यक्रममा स्थानीयबासीको समेत बाँक्लो सहभागिताले कोरोनाले महामारी फैलिएको हङकङमा गैर आवासीय नेपालीको सराहनीय कार्यले राम्रो सन्देश प्रवाह भएको छ ।


प्रकाशित | १४ फाल्गुन २०७६, बुधबार १५:१२