छाउपडी देखाएर अन्तर्राष्ट्रिय समूदायसँग मागी खाने भाँडो नबनाउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले छाउपडी देखाएर मागी खाने भाँडो नबनाउन आग्रह गर्नुभएको छ । ललितपुरमा महिला कानुन र विकास मञ्चले गरेको बेइजिङ सम्मेलनको २५ वर्ष समीक्षामा नागरिक समाज बारेको प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङले छाउपडी प्रथाबाट भएको समस्या भन्दा पनि बढी चर्चा भएको भन्दै अन्तर्राष्ट्रिय समूदायसँग छाउपडी देखाएर मागी खाने भाँडो बनाउन खोजिएको त हैन भन्दै प्रश्न समेत गर्नुभयो ।

‘बोक्सी प्रथा, धामी झाँक्री प्रथा, महिला हिंसा रोक्न सरकार प्रतिवद्ध छ । मैले पुरुष भएर पनि महिलाको समस्या बुझेको छु’ , मन्त्री गुरुङले भन्नुभयो, सामाजिक क्षेत्रलाई अहिले कमजोर रुपमा हेरिएको छ, यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लैजाने समेत प्रतिवद्धता व्यक्त गर्दछु ।’

मन्त्री गुरुङले महिलासम्बन्धी विशेष नीति’ ल्याउने लागिएको समेत जानकारी गराउनुभयो । ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिला सम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्री गुरुङको भनाइ छ ।


प्रकाशित | २२ माघ २०७६, बुधबार १७:३८