एनआरएनएद्धारा पोर्चुगलमा दूतावास स्थापनाको माग

राजकुमार थापा/ लिस्बन,पोर्चुगल

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ । एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले आज काठमाडौमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेका हुन् ।

एनआरएनएले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन परराष्ट्रमन्त्रीसंग आग्रह गरेको छ ।

दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालमा लगानी प्रबर्द्धन र ब्यापार तथा पर्यटन बिस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ ।

मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनएका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

पोर्चुगलमा बस्ने नेपालीको संख्या बढेको त छ नै, पोर्चुगल भएर यूरोपका अन्य स्थानमा आउजाउ गर्नेको चाप पनि थपिदै गएको छ, गैरैले मन्त्रीसंगको भेटघाटमा राज्यका तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्ने दूतावास नहुँदा समस्या भएको छ ।

सिंहदरवारस्थित कार्यकक्षमै ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनएको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको बताए । मन्त्री ज्ञवालीले भने, त्यहाँको समस्या समाधानका लागि एनआरएनको पहल सकारात्मक छ, हामी उपयुक्त निकास बारे छलफल गरिरहेका छौं । सो अवसरमा खोटाङका सांसद माननीय विशाल भट्टराईको समेत उपस्थिति थियो । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स धाउनुपर्ने बाध्यता छ ।


प्रकाशित | २० माघ २०७६, सोमबार १६:४८