अस्ट्रेलियामा आकर्षक पुरस्कार सहित ‘पहिलो नेपाली फोटो प्रतियोगिता’ को आयोजना हुँदै

सुशील चालिसे /मेलबोर्न

अस्ट्रेलियामा नेपाली समुदाय बीच चर्चित संस्था साथी अस्ट्रेलियाको आयोजनामा पहिलो नेपाली फोटो प्रतियोगिता हुन गइरहेको छ । प्रतियोगितामा भाग लिनका लागि आबेदन निशुल्क रुपमा खुल्ला गरिसकेको जानकारी साथी अस्ट्रेलियाका मुख्य संयोजक श्री अरुण चित्रकारले विश्व सन्देशलाई दिनुभएको छ ।

सामाजिक संस्था साथी अस्ट्रेलियाले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरु माँझ एकताको पुलको रुपमा काम गर्दै आएको छ । यस संस्थाले नेपालीहरुलाई पर्दै आएको समस्यालाई निराकरण गर्नको लागि संयोजनकारी भूमिका निर्भाह गर्दै आएको छ र यस संस्था मार्फत बिभिन्न सूचनाहरु प्राप्त गर्ने सुबिधा पनि पाइरहेका छन् । यसैगरी नेपालका गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि बिभिन्न बिद्यालयहरुलाई सहयोग जुटाउनुका साथै निमुखा बुढाबुढीहरुको पनि दुखमा साथ् दिदै आएको छ ।

आकर्षक पुरस्कारको व्यवस्था रहेको यस प्रतियोगिताको आयोजक संस्थाका मुख्य संयोजक चित्रकार आफैमा एउटा कुशल चित्रकार, फोटोग्राफर तथा समाजसेवी हुन् । मेलबोर्नमा उनको आफ्नै चित्रकार ग्यालेरी संचालनमा रहेको छ र त्यसमा नेपालको बिभिन्न कला, सस्कृति, भेषभुषा झल्किने चित्रहरु रहेका छन् । उनले यसै ग्यालेरी मार्फत नेपाली चित्रकलाको विश्व सामु छुट्टै परिचय र विशेषता रहेको देखाउन, बुझाउन पाउदा गर्ब महसुश भएको बताएका छन् ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुमा भएको फोटोग्राफी सम्बन्धि कलालाई उजागर गरि प्रचार प्रसारमा ल्याउने र नेपाली चित्रकलालाई व्यापक रुपमा स्थापित गराउने मुख्य उदेश्य रहेको यस प्रतियोगिताबाट छानिने उत्कृस्ट फोटोहरु अस्ट्रेलियाका बिभिन्न सहरहरुमा सार्बजनिक प्रदर्शन गरिने छ जसबाट Visit Nepal 2020 को प्रचार प्रसार र प्रबर्द्धन गर्न टेवा पुग्ने छ । यस प्रतियोगितामा भाग लिनका लागि sathiaustralia.com मा गएर सिधै Enter The Competition मार्फत गर्न सकिने छ र प्रतियोगिताको सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत छिटै नै प्रस्तुत गर्ने योजना रहेको साथी अस्ट्रेलियाका मुख्य संयोजक अरुण चित्रकारले बताउनु भएको छ ।


प्रकाशित | १५ पुष २०७६, मंगलवार ०९:४८