तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

काठमाडौं: लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मर्स्याङ्दीबेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । माथिल्लो त्रिशुली १ का लागि ६५ अर्ब, मस्र्याङ्दी बेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाका लागि आठ अर्ब २२ करोड ७४ लाख रुपियाँ लगानी स्वीकृत गरेको लगानी बोर्डले जनाएको छ ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ । माथिल्लो त्रिशुली २ बी आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत् निर्माण हुँदैछ ।

त्यसैगरी, बैठकले प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई एकीकृत कृषि परियोजना हस्तान्तरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

निर्णय बमोजिम कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश नं ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश नं १ को उर्लाबारी तथा प्रदेश नं २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले ठूला परियोजनाहरु बिना अवरोध कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरुबीच समन्वयको आवश्यकता औंल्याए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा।युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालको उपस्थिति रहेको थियो । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | १४ पुष २०७६, सोमबार ०९:२१