विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं : कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

शपथ कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईलगायतको उपस्थिति थियो ।

उपनिर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले स्वर्गीय रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।


प्रकाशित | १ पुष २०७६, मंगलवार १८:३८