४१ महिनाभित्र नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग

काठमाडौं : अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुनेभएको छ। काठमाडौं उपत्यकाकै मुख्य नाकाका रूपमा लिइने उक्त नाकामा सवारी आवागमन सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कर्पोरेसन कम्पनीले गत नोभेम्बर १४ (कात्तिक १८ गते) देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसक्नुभएको छ। सुरुङ मार्गको निर्माणसँगै आयोजनाभित्र पहुँचमार्ग, पुल, कल्भर्ट, फ्लाई ओभर, अन्डरपास, सुरक्षा, दस्तुरलगायतका भवनजस्ता संरचनासमेत बनाउनुपर्नेछ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सुरुङबाहेकका ५० प्रतिशतभन्दा बढी संरचना निर्माण गर्नुपर्ने भएकाले सुरुङ मार्गभन्दा अघि निर्माण कार्य थालिएको जनाएको छ।

चार महिनापछि मात्रै सुरुङ मार्गको काम थालिने जानकारी दिँदै आयोजना प्रमुख श्यामप्रसाद खरेलले भने, ‘सुरुङमार्ग बनाउन चाहिने आवश्यक सामग्रीको बन्दोबस्ती नभइसकेकाले उक्त काम चार महिनापछि शुरू हुनेछ।’

‘सुरुङको काम थाल्न विस्फोटक पदार्थदेखि निर्माण सामग्री र मेसिनको बन्दोबस्ती तयारी अवस्थामा राखिनुपर्छ’, उनले थपे, ‘यी सबैको बन्दोबस्ती भइरहेकाले त्यसभन्दा पहिले अन्य संरचना बनाउने काममा लागेका छौं।’

उक्त ठेकेदार कम्पनीले अहिलेसम्म आफू र आफ्ना कामदार बस्ने क्याम्प र सुरक्षा भवन निर्माण कार्य शुरू गरिसकेको आयोजना प्रमुख खरेलले जानकारी दिए ।

यस आयोजनाभित्र दुई दशमलव सात किलोमिटरको सुरुङमार्ग, सडक मार्ग, सातवटा पुल र दुईवटा फ्लाई ओभर निर्माणको काम पर्दछ। उक्त सुरुङमार्ग काठमाडौंको टोटीपाखा हुँदै धादिङको सिस्नेखोलासम्मको हुनेछ। -नेपाल समाचारपत्र


प्रकाशित | २९ मंसिर २०७६, आईतवार १०:२२