आईसीसी यू–१९ विश्वकपको एसिया छनोट यात्रा सुरु : सिंगापुरसँग पहिलो खेल खेल्दै नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टिमले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको यात्रा सुरु गर्दैछ। मलेसियामा शुक्रबार हुने आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टिम विश्वकपका लागि छनोट हुने भएकाले नेपालको लक्ष्य शीर्ष स्थान नै हो। सिंगापुरविरुद्ध मैदानमा उत्रिँदा नेपाल बलियो मनस्थितिमा हुनेछ। पछिल्लो पटक यी दुई टिम २०१७ को विश्वकप छनोटमा खेलेका थिए। दुई खेल खेलेको नेपाल दुवैमा विजयी भएको थियो।

एउटा खेलमा नेपाल २२ रनले विजयी भएको थियो भने अर्को खेलमा चार विकेटले जित निकालेको थियो। नियमित क्रिकेट खेल्ने खेलाडीहरू सामेल भएकाले नेपाल सन्तुलित टिमका रूपमा रहेको छ। यू–१९ टिममा चार जना नयाँ अनुहार भए पनि अन्य खेलाडी भने दुई वर्षदेखि उमेर समूह तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन्। त्यसैले पनि प्रशिक्षक विनोद दास नेपाल छनोट गराउने बलियो अपेक्षामा छन्। प्रशिक्षक दास यो पटक अनुभवी खेलाडी कप्तान रोहित पौडेले, सन्दीप जोरा, भीम सार्की, अविनाश बोहरा, आसिफ शेख, पवन शराफ र रासिद खान लगायतको साथले केही उत्साही छन्। नेपाली क्रिकेट घरेलु मैदान बाहेक सर्वाधिक बढी प्रतिस्पर्धा गरेको स्थानमध्येमा मलेसिया पनि पर्छ। त्यसैले मलेसियाका मैदान नेपालका लागि नौलो हुने छैन।

अघिकांश खेलाडीले किनरारा, वायुमास लगायतका मैदानको पिचको अनुभव बटुलिसकेकाले नेपालले त्यसको फाइदा उठाउने सम्भावना छ। नेपालले छनोटमा खेल्ने प्रतिद्वन्द्वीहरू सबै चिरपरिचित छन्। यद्यपि नेपालका लागि निर्णायक खेलका रूपमा पुनस् यूएई, मलेसिया र ओमान नै रहेका छन्। यी टिमका केहि खेलाडी राष्ट्रिय स्तरबाट पनि प्रमाणित गरिसकेकाले नेपालको खास प्रतिद्धन्दिका रूपमा यिनै टिमलाई मानिएको छ।

छनोटको दबाब मलेसियामा आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्दा यो पटक नेपाललाई छनोट हुने दबाब सर्वाधिक रहेको छ। छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन अघि छन्। यू–१९ विश्वकपको इतिहासमा नेपाल धेरै पटक उमेर समूहको विश्वकप खेलिसकेको छ। यद्यपि नेपालले सन् २०१०, २०१४ र २०१८ मा विश्वकप खेल्ने अवसर गुमाएको थियो। त्यसैले यो पटकको गोल्डेन जेनेरेसनले विश्वकप छनोट खेल्ने अपेक्षा गरिएको छ। एजेन्सी


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ०८:०८