एनआरएनएले काठमाडौँका प्रमुख ब्यस्त चोकमा सार्वजनिक शौचालय बनाउने

काठमाडौं : गैर आवासीय नेपाली सघले काठमाडौंका प्रमुख ब्यस्त चोकमा सार्वजनिक शौचालय बनाउने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गैरआवासीय नेपाली संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो । यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरेको छ । टोलीमा एनआरएनए अध्यक्ष कुमार पन्तसहितको टोली पनि सहभागि भएको थियो ।

त्यस्तै, कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने, संघले शौचालय निर्माण र सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिनेछ । मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको हो । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने विश्वास लिइएको छ ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार १३:४४