टोकियोमा गैर आवासीय नेपालीले गरे भारतले जारी गरेको नयाँ नक्सा विरुद्ध प्रदर्शन

टोकियो: जापानको टोकियोमा भारत विरुद्ध गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति विरोध जनाउँदै प्रदर्शन भएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अगुवाईमा भएको विरोध प्रदर्शनमा नेपालीहरुको बाक्लो सहभागिता थियो  ।  शान्तिपूर्ण विरोध र्यालीमा एनआरएनएका साथै नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । व्यानर तथा नेपाली राष्ट्रीय झण्डा सहित उपस्थित नेपाली समुदायहरुले केहि क्षण भारतीय विस्तारवादका विरुद्दमा नाराबाजी समेत गरेका थिए ।

उनीहरुले भारतीय दुतावास अघि भेला भई शान्तिपूर्ण र्यालि गरेका हुन । पूर्व निर्धारित कार्यक्रम अनुसार भारतीय राजदूतावासमा लिखित ज्ञापान पत्र बुझाउने कार्यक्रम रहे पनि दुतावासले आन्तरिक नियम भन्दै लिखित ज्ञापन पत्र भने बुझ्न नमानेको एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीले जानकारी दिनुभयो ।

शाहीका अनुसार  ज्ञापन पत्र हुलाक मार्फ़त पठाउन मिल्ने र हालसम्म त्यहि प्रावधान चलनमा रहेको भन्ने  जानकारी गराईए अनुसार दुताबासको ठेगनामा ज्ञापन पत्र पठाइएको छ ।

विरोध कार्यक्रममा गैर आवासीय नेपाली संघ आईसीसी कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरुङ्, महिला उपाध्यक्ष सविता श्रेष्ठ, महासचिव जनक विक्रम शाही लगायतका अन्य पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले तथा अन्य राजनीतिक भातृसंठनका प्रतिनिधि एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाँक्लो सहभागिता थियो ।

 


प्रकाशित | २ मंसिर २०७६, सोमबार ११:२६