नीतिगत अप्ठ्यारा नसुल्झिँदा स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन : अध्यक्ष भवानी राणा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा नीतिगत अप्ठ्यारा अझै नसुल्झिएको धारण ब्यक्त गर्नुभएको छ । ‘नीतिगत अप्ठ्यारा अझै सुल्झिएका छैनन् । स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन्’, ’बिहीबार महासंघको ५३ औँ साधारणसभामा अध्यक्ष राणाले भन्नुभयो, स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन् ।’

सरकारले प्रतिबद्वता गरेअनुसारको काम नगरेको गुनासो गर्दै अध्यक्ष राणाले कुरा गर्दा वा प्रतिबद्वता लिँदा प्रधानमन्त्री र सरकारका प्रतिनिधि निजी क्षेत्रमैत्री देखिए पनि व्यवहारले पुष्टि गर्न नसकेको बताउनुभयो । ‘प्रधानमन्त्रीलाई भेट्दा जहिले पनि हामी उत्साहित हुन्छौँ, तर पछि नीति नियम बनेर आउँदा निजी क्षेत्रमैत्री भएको देखिँदैन’, उहाँले भन्नुभयो, ‘प्रदेश मुख्यमन्त्रीहरू पनि विकासका लागि आतुर भएको प्रतिक्रिया दिए पनि काम हुन सकेको छैन ।’

देशको व्यापार घाटा बढाउनको लागि निजी क्षेत्रको प्रवर्द्धनमा सरकारले ध्यान पुर्‍याउनुपर्ने अध्यक्ष राणाको भनाइ थियो। उहाँले निर्यात वृद्धि र आयात प्रतिस्थापनका काम अघि बढाउन सहकार्य गरेर अघि बढ्नुपर्ने समेत बताउनुभयो

स्वदेशी लगानी कर्तालाई ठूलो अप्ठ्यारो भएको बताउँदै भन्नुभयो, ‘पैसा छैन, उद्योग स्थापना गर्न आवश्यक जग्गा सहज उपलब्ध छैन । नीतिगत अप्ठ्यारा अझै सुल्झिएका छैनन् । स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन् ।’

ठूला परियोजनामा विदेशी लगानी आवश्यक भएकाले निजी क्षेत्रबाट लगानी सम्भव नभएका आवश्यकताका क्षेत्रमा लगानी ल्याउनु पर्ने उहाँको धारणा थियो । नेपालमा पर्याप्त औधोगिक क्षेत्र स्थापना गर्नुपर्छ र त्यसका लागि सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष राणाको जोड थियो ।

उहाँले ब्याजदरको वैज्ञानिक आधार तय हुनुपर्ने बताउँदै जतिखेर मन लाग्यो, त्यतिखेर ब्याजदर बढाउने कार्य बैङ्कले बन्द गर्नुपर्ने धारणा राख्नुभयो । ‘अझै ब्याजरको वैज्ञानिक आधार तय भएको छैन,’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्रबाट सुझाव माग्ने तर, कार्यान्वयन नगर्ने रोग मौलाउँदै गएको छ ।’


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १६:३१