नेपाली सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान

काठमाडौं: नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो ।

विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ ।

कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् ।

कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।

सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् ।

त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।


प्रकाशित | १६ कार्तिक २०७६, शनिबार २२:०१