बाँसको पुल तर्दा पनि कर

काठमाडौं: झापाको झापा गाउँपालिका–२का श्याम राजवंशीले बिरिङ खोलामा लगाइएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो ।

सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनका रूपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल नजिकै आयोजना अन्र्तगतको पुल निर्माण सुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको राजवंशी बताउँछन् ।

झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् । पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमा पारी पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । प्रत्येक दिन १ हजार भन्दा बढी नागरिक बिरिङ खोला वारपार गर्ने गरेको झापाको बाह्रदर्शी गाउँपालिका– ३का डिगबहादूरी बरालले बताए । बाँसको भाटाबाट बनाईएको पुल तर्न पनि स्थानीय सरकारले कर लगाएको बराल बताउँछन् । “८ वर्षमा ९ वटा पिल्लर लगाइयो, पक्कि पुल बन्नु त हाम्रा लागि सपना नै भइसक्यो,” बरालले भने । किनमेलका लागि लगेको पैसा पनि बाटोका पुल तर्दातर्दै सकिने उनको भनाइ छ । स्थानीयले वर्षभरि खोला तर्दा कर तिर्नुपरेको उनले बताए । नागरिकले स्थानीय सरकारबाट ठेक्का तिरेर हिउँदमा बाँसको पुल र बर्खामा डुंगाबाट खोला तर्दा रकम उठाउने गरेका छन् ।

खोलाको वारपारका लागि जेठदेखि असोजसम्म डुंगा सञ्चालनमा ल्याइन्छ । उक्त समयमा बाढी आउने भएकाले डुंगा चलाउनु परेको पुल सञ्चालक तुहारीलाल माझी बताउँछन् । ठेकेदारले आफ्नो लगानीमा बाँसको पुल बनाएका कारण रकम लिएको बाह्रदर्शी गाउँपालिका –३ का वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी बताउँछन् । पक्कि पुल नहुँदा झापा गाउँपालिका र बाह्रदर्शी गाउँपालिका नागरिकले प्रत्येक वर्ष लाखौँ रूपैयाँ तिर्दै आएको उनले बताए । ठेकेदारको लापरवार्हीको कारण पुल निर्माणमा ढिलासुस्ती भएको उनी बताउँछन् ।

उक्त खोलामा ३ सय मिटरको दूरीमा झापा गाउँपालिका र बाह्रदर्शी गाउँपालिकाबाट ठेक्का लागेका दुई वटा पुल सञ्चालनमा छन् । छोटो दूरीमा दुई वटा पुल सञ्चालनमा ल्याइएका कारण ठेकेदारले बाँसको पुललाई कमाई खाने माध्यम बनाएको स्थानीय नागरिकको गुनासो छ । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाईकल २० र प्रतिमोटरसाइकल एक सय रूपैयाँसम्म रकम ठेकेदारले असुल्दै आएका छन् ।

ठेक्कामा विद्यालय जान्छन् विद्यार्थी

झापा गाउँपालिकाका –५का १४ वर्षीय विवेक गणेश बाह्रदशी गाउँपालिका स्थित –ज्ञानज्योती अंग्रेजी विद्यालयमा अध्ययन गर्छन् । विद्यालय जाँदा बाटोमा पर्ने विरिङ खोला तर्नका लागि उनले वार्षिक २ हजार रूपैयाँ ठेक्का बुझाउनु पर्छ । उनी वर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट खोला पार गरेर विद्यालय पुग्छन् । विवेक जस्तै झापा गाउँपालिकाका ५ सय बढी विद्यार्थी वार्षिक ठेक्का बुझाएर बाह्रदर्शी गाउँपालिकाको राजगढमा रहेका विद्यालय पुग्ने गरेका छन् । यो समाचार आजको कारोबार दैनीकमा मनिषा चम्लागाईँले समाचार लेखेकी छिन् ।


प्रकाशित | १५ कार्तिक २०७६, शुक्रबार ०९:२३