१ वर्षमै मेलम्ची ल्याउने कसरतमा सरकार

काठमाडौं: मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी ल्याउने विगतमा बारम्बार तोक्दै आए पनि आयोजना अलपत्र छ । सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि एक वर्षमा पानी ल्याउने मिति तोकिने भएको छ ।

खानेपानी मन्त्रालयले आगामी १ वर्षभित्रमा मेलम्चीको पानी उपत्यकामा ल्याउनेगरीतयारी गरिरहेको जनाएको छ ।लामो समयसम्म पनि काम सम्पन्न गर्न नसक्दा विवादमा आएको आयोजनाको आलोचना बढ्दै गएपछि समयमा नै काम सम्पन्नगर्न सरकारलाई दबाब परेको हो ।अब मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा देखिएका समस्याहरू समाधान गरेर आयोजना निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाइने मन्त्रालयले विश्वास दिलाएको छ ।

खानेपानीमन्त्री विना मगरले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेवित्तिकै गत वर्षको दसैंसम्म काठमाडौंको धारामा मेलम्चीको पानी आउने आवश्वासन बाँडेकी थिइन् । उनले विश्वास दिएको १ वर्ष बढी भइसके पनि यो दसैंमा समेत मेलम्चीको पानी आउने टुंगो लागेन । आयोजना निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सीएमसी) सँगको ठेक्का सम्झौता खारेजीसँगै आयोजना अलपत्र छ ।  यो समाचार आजको कारोबार दैनीकमा छ ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले आयोजना सञ्चालनका क्रममा देखिएका समस्याका समाधान गर्दै अब १ वर्षमभित्रमा नै मेलम्चीको पानी काठमाडौंमा ल्याउने दाबी गरे। “पहिले ठेकेदारका कारण मेलम्चीको काम अलपत्र भयो, अहिले भुक्तानी विवादका कारण काम अगाडि बढ्न सकेको छ, विवाद मिलाउन वार्ता भइरहेको छ,” उनले भने, “चालू आर्थिक वर्ष २०७६(७७ भित्र नै मेलम्चीको पानी काठमाडौं ल्याउन सकिन्छ । ”

खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले पनि १ वर्षभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउन सम्भव हुने बताए । “पहिला पनि राजनीतिक सामाजिक समस्या आयो, अन्य प्राविधिक समस्या छैन,” उनले भने, “अब अवरोध कतैबाट आएन भने १ वर्षमा नै काम सकिन्छ ।”

भुक्तानी विवादको समस्या समयमा नै टुंगो लगाउन अध्ययान गरेर सरकारले तत्काल भुक्तानी उपलब्ध गराउनुपर्ने उनले बताए । भुक्तानीको विवाद नमिलेआयोजनाको काम ठप्प बनाउने स्थानीय ठेकेदार, कामदार तथा सप्लायर्स कम्पनीले चेतावनी दिँदै आइरहेका छन् ।सरकारले पटकपटक वार्ता गर्दा सफल हुन सकेको छैन । खानेपानी मन्त्रालयले सीएमसीको ४ अर्ब रुपैयाँभन्दा बढी जफत गरिसकेको छ ।


प्रकाशित | ५ कार्तिक २०७६, मंगलवार १०:०३