एनआरएनएमा कुमार पन्तलाई सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ: राम प्रताप थापा

काठमाडौं : गैर आवासीय नेपाली संघका संरक्षक राम प्रताप थापाले यही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको नवौ विश्व सम्मेलनबाट कुमार पन्तलाई सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संघ गैर राजनीतिक र गैर नाफामूलक संस्था भएको बताउँदै एनआरएन अभियन्ता समेत रहनु भएको थापाले अबको एनआरएनको नेतृत्व कुमार पन्तलाई सर्वसम्मत चयन गर्नुपर्नमा जोड दिनुभएको हो ।

संस्थामा योगदान, अनुभव, क्षमतालाई कदर गर्नुपर्नेमा जोडदार आवाज उठाउँदै आउनुभएको थापाले नेतृत्वको लागि चुनावमा होडबाजी हुनु जायज नभएको बताउनुभयो ।

‘कुमार पन्त जी ले तल्लो तहदेखि निरन्तर रुपमा संस्थायमा योगदान गर्दै आउनुभएको र दुई पटक उपाध्यक्ष भइसक्नु भएको अवस्थामा उहाँ जस्तो निरन्तर काम गर्दै आउनुभएको ब्यक्तीलाई सर्वसम्मत नेतृत्व चयन गुर्नपर्छ’, थापाले भन्नुभयो ।

केहि ब्यक्तीहरुले राम्रो काम गरिरहेका ब्यक्तीलाई रोक्न खोजेकोमा आपत्ति जनाउँदै संस्थागत योगदानलाई नभुल्न सबैमा आग्रह समेत गर्नुभयो ।

‘संस्थामा तल्लो तहदेखि निरन्तर काम गर्दै आएको ब्यक्तीलाई नेतृत्वमा जानबाट रोक्न खोज्नु कतीको उपयुक्त हुन्छ भन्ने कुरा सबैले विचार गर्नुपर्ने बेला आएको छ’, थापाले थप्दै भन्नुभयो, ‘आगामी दिनमा नेतृत्वको विकल्पमा जान सक्ने कुनै बाटो नै नभएको ब्यक्तीलाई बाधा र ब्यवधान खडा गर्नु उचित होइन, केहि साथीहरुले हत्तार गरेर उठी दिदा परिपक्पता देखिएन ।’

थापाले केहि ब्यक्तीहरुले राजनीति गर्दिन भन्दै राजनीतिक ब्यक्तीहरुलाई खडा गरिरहेको भन्दै गलत कार्यको सबैले विरोध गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

‘एनआरएनएमा निरन्तर सेवा गर्ने ब्यक्तीलाई रोक्न खोज्नु जायज छैन । जसको बाटो छ, उनीहरुले बाटो रोक्न खोज्नु मित्रताको भाव होइन । धेरै लम्बाएर अन्तिम घडीमा सहमती गर्नु भन्दा चाँडै सहमती गरेमा एनआरएनमा आस्था राख्ने साथीहरुलाई अगाडि बढ्न सजिलो  हुनेछ  ।’

थापाले एकै बाजी माथि जाँदा संस्थालाई घाटा हुने र परिपक्वता नदेखिने कुरा सुझाउँदै भन्नुभयो, ‘सबैको पालो आउँछ, बलजफर्ती नेतृत्वमा आउँन खोज्नु उचित होइन । ब्यक्तीगत हिसावले एनआरएनमा सहमतीमा नेतृत्व चयन हुनेमा भने पूर्ण विश्वस्त छु ।’

अबको एनआरएनको नेतृत्व हरेक हिसावले कुमार पन्त नै भएको भन्दै पन्त संस्थाको लागि दुरदर्शी र योग्य तथा उपयुक्त नेतृत्व भएको बताउनुभयो । कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्नु नुहुनेमा जोड दिदै थापाले संस्थाको हितको लागि केहि कदम पछि हट्नु तयार हुनुपर्ने बताउनुभयो ।

‘संस्थामा सहमती नहुँदा संस्थालाई ठूलो घाटा हुने र दुुई वर्षमा गर्न सकिने काममा समेत बाधा पुगेको कुरा इतिहासबाट नै देखिसकेको छ’, थापाले भन्नुभयो, ‘त्यसैले अबको नेतृत्व सहमतीको आधारमा चयन गरेर एनआरएनएलाई अगाडि बढाउन जरुरी छ ।’


प्रकाशित | १८ आश्विन २०७६, शनिबार ००:२७