मलेसियामा १ लाखलाई रोजगारी

गोपाल संग्रौला /काठमाडौं

मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएरप्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको हो ।

मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढ्दै गएर १ लाखभन्दा बढी भएको हो । अझ पहिलो पटक जाने नयाँ युवाको संख्या हेर्ने हो भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाले बताएका छन् । विगत लामो समयदेखि मलेसिया खुल्ने आशामा जीएसजी नेपालमा प्रक्रियाका लागि आवेदन दिएका युवा संख्या १ लाख पुगको छ । जीएसजी नेपाल मलेसियाको अध्यागमन सुरक्षा प्रणालीका लागि काम गर्ने नेपालमा स्थापना गरिएको संस्था हो । मलेसिया र नेपाल सरकारका प्राविधिक टोलीले मलेसियाको रोजगारी खुला गरेपछिलाखौ युवा मलेसिया जाने तयारीमा लागेको म्यानपावर व्यवसायीले जनाएका छन् ।

मलेसियास्थित नेपाली राजदूतावासले भदौ ३० गते मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौ नेपाली मलेसिया जाने बाटो खुलेको छ । दूतावासले ३० गते प्रमाणीकरणको लागि निवेदन दिन अनुरोध गरेपछि सम्पुर्ण प्रक्रिया पूरा गरेका मागपत्र सोमबारबाटै प्रमाणीकरणको काम सुरु भएको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले बताए । “प्रक्रिया पूरा गरेका २ वटा रोजगारदाताका मागपत्र प्रमाणीकरण भइसकेको छ,”राजदूत पाण्डेले कारोबारसँग भने, “नेपाली कामदारको सुरक्षाका लागि रोजगादातालाई उत्तरदायी बनाउन दूतावाससँगै मलेसियाको श्रम मन्त्रालयले समेत प्रमाणीकरण गर्ने भएको छ ।”

जीएसजी नेपालका कार्यकारी निर्देशक गोविन्द थपलियाले मलेसिया खुल्ने भएपछि आईएसजीमा दैनिक जसो ५ सयदेखि १ हजार ७सयसम्म युवाको भिड लाग्ने गरेको जीएसजी नेपालका कार्यकारी निर्देशक गोविन्द थपलियाले जानकारी बताए ।यस्तै, वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले मलेसिया खुल्ने भएपछि दैनिक २ हजारदेखि २५ सय युवाले राजधानी आउने गरेको बताए । विगत ३ महिनादेखिप्रक्रिया अघि बढाएपछि त्यहाँ जान प्रतिक्षामा रहेका नेपाली युवाको संख्याको संख्या मात्र १ लाख पुगेको निवर्तमान अध्यक्ष गुरुङले जनाकारी दिए ।नेपाल र मलेसिया सरकारको प्राविधिक समितिको हालै सम्पन्न बैठकपछि मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम समेत सुरु गर्ने तयारी अनुसार बुधबार मलेसियाको पुत्राजयमा मलेसियन पक्षसँग अन्तिम छलफल गरेको थियो ।

छलफलमा नेपाल पक्षले मागपत्र प्रमाणीकरणमा मलेसियाको श्रम मन्त्रालयले समेत आफनो पक्षबाट प्रमाणीकरण गर्ने छ । मलेसियाको सरोकारवाला मन्त्रालयले नै नेपाली युवाको मागपत्र प्रमाणीकरण गर्ने भएपछि मलेसियाका रोजगारदाता नेपाली श्रमिकप्रति अझ उत्तरदायी हुने दूतावासको अपेक्षा रहेको छ ।

दूतावासले मागपत्र प्रमाणीकरणको सूचना सार्वजानिक गदै नयाँ मागपत्र प्रमाणीकरणका लागि २ देशको एमओयूमा उल्लेख गरेअनुसार रोजगार करारनामा, चेकलिष्ट र मागपत्रको नमूना समेतका आधारमा निवेदन दिन अनुरोध गरेको छ । २०७५ जेठ २ गतेपछि राजदूतावासमा पेश भएका मागपत्रहरूमा संलग्न रोजगार करारपत्र र मागपत्र पुन पेश गर्नु पर्ने दूतावासले जनाएको छ । मागपत्र प्रमाणीकरणका लागि रोजगादाताको प्रतिज्ञापत्र, कामदारको सेवा सुविधा, कानुनी अधिकारका प्रावधान लगायतका विभिन्न ८ देखि १० वटा मागजातसहित निवेदन पेश गर्नुपर्ने छ ।


प्रकाशित | १० आश्विन २०७६, शुक्रबार १३:३१