एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तका यस्ता छन् कार्ययोजना

किरण बुढाथोकी /काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्त विश्वका विभिन्न देशको भ्रमण सकाएर अहिले जर्मनीमा आइपुग्नु भएको छ । लामो समयदेखि विश्व दौडमा ब्यस्त रहनु भएको पन्तले विश्वका धेरैजसो गैर आवासीय नेपालीसँग भेटभाट तथा छलफल गर्नुभयो । आसन्न अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार पन्तले अमेरिकाज् क्षेत्रदेखि ओसेनीया क्षेत्र हुँदै मध्य पूर्व र एसिया प्रशान्त क्षेत्रसम्मको भ्रमण गर्नुभयो ।

चुनावी दौडको क्रममा पन्तले अहिलेसम्म अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, मलेसिया, हङकङ, म्यानमार, कतार, ओमन, बहराईन, साउदी अरव, पोर्चुगल, लक्जेम्वर्ग, डेनमार्क, नेदरल्याण्ड, बेल्जियम, यूकेलगायतको अधिवेशन तथा विभिन्न कार्यक्रममा सहभागि भइसक्नु भएको छ ।

 भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयनमा लग्नेछौ

पन्तले अघिल्लो तत्कालीन एनआरएनए अध्यक्ष शेष घलेको पालामा पारित गरिएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड अबको एनआरएनएको कार्ययोजना भएको बताउनुभएको छ । गैर आवासीय नेपालीका सबै विषयवस्तु भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डमा समेटीएको भन्दै पन्तले अबको एनआरएनको कार्ययोजना नै भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड भएको स्पष्ट पार्नुभयो ।

एनआरएनए यूकेको अधिवेशनमा सम्बोधन गर्ने क्रममा पन्तले श्रमीक हक हितका सवालदेखि, लगानी, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, श्रमीक कल्याणकारी कोष र महिलाको प्रतिनिधित्व जस्ता यावक कुराहरु भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड मा समावेश गरिएको स्पष्ट पार्नुभयो । विश्व भ्रमणको क्रममा धेरै मान्छेहरुबाट आफनो कार्ययोजना तथा मुद्दाका सवालमा प्रश्न उठ्ने गरिरहेको बताउँदै पन्तले ब्यक्तीपिच्छे मुद्दा फरक नहुने बताउनुभयो । पन्तले भन्नुभयो, ‘ढुक्क हुनुहोस अबको एनआरएनएको प्रमुख मुद्दा भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड नै हो । यसको कार्यान्वयन गर्नु अबको नेतृत्वको मुख्य दायित्व हुनेछ ।’

श्रमीक कल्याणकारी कोषलाई दोब्बर बनाउनेछौ 

पन्तले एनआरएनएको श्रमीक कल्याणकारी कोषमा रहेको रकमलाई दोब्बर बनाउने घोषणा समेत गर्नुभएको छ । कोषमा हाल रहेको केही रकमलाई दोब्बर बनाउने लक्ष्य संघको रहेको बताउँदै आगामी दुई वर्षभित्र सो रकमलाई दोब्बर बनाउने घोषणा गर्नुभयो । “अबको दुई वर्षमा कोषलाई कमसेकम दोब्बर बनाउने कुराको प्रतिबद्धता यो संघ गर्दछ ” उहाँले भन्नुभयो, “चाहे त्यो म नेतृत्वमा आओस् चाहे अन्य साथीमार्फत, जे होस् यो जिम्मेवारी संघको प्रमुख जिम्मेवारी हो ।”

विश्व श्रम बजारमा रहेका नेपाली श्रमिकको मुद्दामा गैरआवासीय नेपाली संघ संवेदनशील रहेको बताउँदै सन् २०१५ को स्मरण गर्दै पन्तले भन्नुभयो, “म साथीहरुलाई स्मरण गराउन चाहन्छु, कि हामीले सन् २०१५ मै उद्घोष गरेका थियौँ कि, गैरआवासीय नेपाली संघको अबको प्रमुख कार्यभार भनेको श्रमिकहरु बसेको ठाउँमा रहन्छ भनेर ।”

श्रमिकको विषयमा संघले गम्भीरतापूर्वक सोचेरै श्रमिक कल्याणकारी कोषको स्थापना गरेको दोहोर्याउँदै पन्तले भन्नुभयो, “हामीले श्रमिक कल्याणकारी कोषको समेत स्थापना गर्यौँ, जसमा तत्कालिन अध्यक्ष शेष घले ज्यू र वर्तमान अध्यक्ष भवन भट्ट ज्यू एक ÷ एक करोड राख्नुभयो र म लगायत हामी सबैले पनि केही रकम जम्मा गरेका छौँ ।”

उहाँले थप्नुभयो, “त्यतिबेला हामी के निष्कर्षमा पुगेका थियौँ भने अब गैरआवासीय नेपाली संघ मुख्यगरी, श्रमिकहरुको बीचमा रहनुपर्छ, विशेषगरी श्रम गरेर देशमा रेमिटया्न्स पठाएर अर्थतन्त्रलाई धान्ने साथीहरुको माझमा संघलाई लिएर जानुपर्छ भनेर, तर बिड्म्बना त्यतिबेलै नेपालमा भूकम्प गयो र संघको सम्पूर्ण श्रोत र शक्ति पुर्ननिर्माण केन्द्रित भयो, जसका कारण हामीले घोषणा गरेको श्रमिकको माझमा आउने योजनालाई दोश्रो प्राथमिकतामा राख्नुपर्ने बाध्यता हामीमाझ रह्यो ।”

पन्तले भन्नुभयो, “तर साथीहरु अब भने हामी त्यो जिम्मेवारी जुन पुर्ननिर्माणको रहेको थियो त्यसको लगभग अन्त्यतिर छौँ, र अब संघ मुख्यगरी श्रमिक माझ जाने प्रण गरेर तपाइमाझ आएको छ ।”

श्रमिक कोषलाई निरन्तरता दिई थप बलियो अघि बढाउने रणनीति संघले अघि सारेको पन्तको भनाई थियो । कोषमा हाल रहेको केही रकमलाई दोब्बर बनाउने लक्ष्य संघको रहेको उहाँको भनाई थियो ।

नागरिकता सम्बन्धी ऐन बनाउने विषयमा चलाखो हुनेछौ

पन्तले पोर्चुगलमा सम्बोधन गर्दै भन्नुभएको छ, ‘विशेष गरि गैर आवासीय नेपाली संघ अहिले दुई वटा विषयमा केन्द्रित छ । एउटा, गैर आवासीय नेपालीको हक हितका सवाल, अर्को नेपाली नागरिकताको निरन्तरता । सर्वप्रथम विश्वभरी छरिएर रहेका ८० लाख गैर आवासीय नेपालीले नेपालको आर्थिक सम्मृद्धिमा के गर्न सक्छौ ? भनेर केन्द्रित छौ । साथै नागरिकताको विषयमा संविधानमा राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारको नागरिकता दिने स्पष्ट उल्लेख भइसकेको छ । यस अर्थमा गैर आवासीय नेपालीले पाउँने नागरिकताको अधिकार कसैले पनि खोस्न सक्ने देखिन्न ।’

पन्तले थप्दै भन्नुभएको छ, ‘कमसेकम यो पुस्ता र पुरानो पुस्तालाई नागरिकता दिनबाट रोक्न सक्दैन । तर नागरिकताको विषयमा केहि सवाल गम्भिर छन । जस्तो, संविधानमा उल्लेख भएपनि नागरिकताको विषय ऐनमा लिपीबद्ध हुनुपर्ने रहेछ । ऐनमा कती पुस्तासम्मलाई नागरिकता दिने ? कस्तो कलरको पार्सपोट दिने ? कस्तो कलरको आइडी दिने ? आर्थिक, सामाजीक र साँस्कृतिक अधिकार भनेको के हो ? यसको ब्याख्या कसरी गर्ने भनेर हाम्रो ध्यानाकर्षीत भइरहेको छ । हामी यस विषयमा नेपालका सांसद, सबै राजनीतिक दलका नेताहरु र राज्यका निकायहरुसँग हरेक दिनजसो निरन्तर छलफल र वार्तामा छौ । तर राजनैतिक अधिकार बाहेकको नागरिकता पाउनेमा भने ढुक्क हुन सबैमा आग्रह गर्न चाहान्छु ।’

विश्व सम्मेलनपछि गैर आवासीय नेपालीको लगानी विषयमा छलफल गर्न विश्वभरी जान्छौ

पन्तले गैर आवासीय नेपाली संघले नेपालमा गर्न लागेको १० अर्ब लगानीको विषयमा आगामी विश्व सम्मेलनपछि विश्वभरी छलफलको लागि जाने बताउनुभएको छ । पन्तले भन्नुभएको छ, ‘हामीले नेपाल सरकारसँग मिलेर १० अर्ब लगानी गर्ने विषयमा सरकारसँग एमओयू गरिसकेका छौ । आगामी विश्व सम्मेलन सकिसकेपछि लगानीको विषय लिएर विश्वभरी पुग्ने र छलफललाई ब्यापक बनाउने गृहकार्य गर्ने तयारीमा छौ ।’

‘नेपालमा धेरै समस्या छन् । देशमा बेरोजगारीको समस्याले रोजगारीको सिलसिलामा विदेशीनु पर्ने बाध्यता छ’, पन्तले भन्नुभयो, ‘त्यसैले हाम्रो प्रमुख ध्येय नेपालको आर्थिक सम्मृद्धि नै हो । त्यसैका लागि गैर आवासीय नेपालीहरुले पनि नेपालको हरेक क्षेत्रमा सकेको लगानी गरिरहनु भएको छ ।’

नेपालमा ब्यक्तीगत रुपमा गैर आवासीय नेपालीको ठूलो लगानी रहेको बताउँदै पन्तले भन्नुभयो , ‘ब्यक्तीगत रुपमा लगानी लगिरहँदा सामूहिक लगानी गर्न सकेमा अझ नेपालको आर्थिक सम्मृद्धिमा टेवा पुर्याउन सकिन्छ भनेर हामीले सामूहिक लगानीको अवधारण अगाडि बढाइरहेका छौ । हामीले नेपालमा सामूहिक लगानीको प्रस्ताव लिएर गइरहँदा केहि जटिलता भने पक्कै छ । जस्तो, कुनै पनि कम्पनी आइपियोमा जाँदा तीन वर्ष काम गरिसकेको हुनुपर्ने ब्यवस्था रहेछ । श्रम गरेर कमाएर लगेको पैसालाई सामूहिक रुपमा ठूलो लगानी लगिरहँदा कानुनी जटिलताले नराम्रो सन्देश जान्छ कि भनेर हामीले सिधै आइपियोमा जान पाउनुपर्छ भनेर सरकारसँग माग गरेका छौ ।’

पन्तले गैर आवासीय नेपालीले श्रम गरेर लगेको पैसालाई कुनै पनि कम्पनी आइपियोमा जाँदा तीन वर्ष कुर्न नपर्ने ब्यवस्था गर्न माग गरिरहेको बताउनुभयो । ‘जस्तो, विदेशबाट यसरी लगानीको कुरा गरिरहँदा आइरहने विभिन्न कानुनी कठिनाईलाई हटाउन सरकार तयार देखिन्छ । कतीपय कानुनी जटिलता फुकाउन कुनै पनि निर्णय मन्त्रीले मात्र गरेर नहुने रहेछ, त्यो मन्त्रिपरिषद लग्नुपर्ने रहेछ । त्यसको लागि पनि पहल गरिरहेका छौ’, पन्तले भन्नुभयो।

एनआरएनए धनीको मात्र संस्था  हो भन्ने भ्रमलाई चिर्ने प्रयास

पन्तले एनआरएनलाई धनीहरुको संस्था भनेर लाग्ने गरेको आलोचनाबाट मुक्त भएको बताउनुभएको छ । ‘गैर आवासीय नेपाली साथीहरुले लगानी मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउने उद्देश्यले पहिलो पटक एनआरएन आयोजक र नेपाल सरकार सहआयोजक रहने गरि अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गरिसकेका छौ’, पन्तले भन्नुभयो, ‘पूँजी मात्र लगानी गर्दा मुलुकको सम्मृद्धि हुँदैन भनेर हामीले पूँजीसँगै ज्ञान, सिप र प्रविधि नै लग्ने प्रयासस्वस्प विज्ञ सम्मेलन आयोजना गरेका हौ ।’

एनआरएनएनलाई धनीहरुको मात्र संस्था हो भनेर आरोप लागिरहँदा विश्वभरिका ३ सय भन्दा बढी विज्ञहरुको सहभागितामा विज्ञ सम्मेलन आयोजना गर्दा त्यसले निकै सकारात्मक सन्देश गएको पन्तको भनाइ छ ।  ‘विज्ञहरुलाई पनि एनआरएनप्रति आर्कषीत गराएको छ । विज्ञ सम्मेलनमार्फत बनाइएको श्वेत पत्र हामीले सरकारलाई हस्तान्तरण गरिसकेका छौ’, पन्तले भन्नुभयो ।

पञ्जीकृत सदस्यता विस्तार अभियानको लागि विशेष प्याकेज ल्याउँछौ

पन्तले आगामी विश्व सम्मेलनपछि विश्वभरि एनआरएनएको सञ्जाल विस्तारको लागि विशेष प्याकेज लिएर जाने बताउनुभएको छ । ‘अहिले गैर आवासीय नेपाली संघको ८० वटा देशमा सञ्जाल गठन भइसकेको छ । तर एनआरएनमा आबद्ध सदस्य भने ८० हजार पनि पुग नपुगको अवस्थामा छ’, पन्तले भन्नुभयो, ‘त्यसैले आगामी दिनमा विश्वभरि रहनु भएको ८० लाख गैर आवासीय नेपालीभाझ कसरी पुग्ने ? र, उनीहरुलाई एनआरएनए संस्थामा आबद्ध गराउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने छ । विश्व सम्मेलनपछि हामी त्यसको गृहकार्यमा समेत लाग्नेछौ ।’

अहिले एनआरएन कार्ड उपलब्ध गैर आवासीय नेपालीहरुलाई नेपालका धेरै कर्पोरेट संस्थाले १५ प्रतिशत सम्म छुट दिने वन्दोवस्त गर्न तयार भइरहेको पन्तले बताउनुभयो । ‘अन्य विभिन्न क्षेत्रमा गैर आवासीय नेपाली संघमा आबद्ध सदस्यहरुलाई लाभ हुने कार्य तथा उनीहरुको हितमा केन्द्रित भएर प्याकेज ल्याउन सकेमा एनआरएनप्रतिको आर्कषण बढ्ने हामीले विश्वास लिएका छौ । आगामी दिनमा त्यस्ता गृहकार्य अगाडि बढाउन लागिपर्नेछौ । त्यसैले विश्वभरी सञ्जाल विस्तार गरिरहँदा सदस्यता विस्तार अभियान पनि चलाउनु सबैको दायित्व हुनेछ’, पन्तले भन्नुभयो।


प्रकाशित | २६ भाद्र २०७६, बिहीबार २१:२०