तमु धिं यूकेको आयोजनामा लन्डनमा हुन लागेको ११ औं नेपाली मेलाको तयारी पूरा

तस्विर:  शिव भण्डारी

लन्डन : तमु धिं यूकेको आयोजनामा आगामी अगष्ट २५ तारिखमा हुने नेपाली मेलाको तयारी पूरा भएको छ । नेपाली मेलामा बेलायतवासी झण्डै दश हजार नेपालीले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजक तमुधिं यूकेका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलामा लन्डनस्थित नेपाली दूतावासको समेत सहकार्य रहनेछ । मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक जुमकाजी गुरुङले जानकारी गराउनुभयो ।

 युवाहरुका लागि २ घण्टा समय छुट्याइएको छ, जहाँ उनीहरुले गीत संगीत प्रस्तुत गर्नेछन् । मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, ३ सय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन् । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड दिइनेछ । ‘राफल ड्र’ मा नेपाल रिटर्न टिकेट र एक तोला सुन राखिएको छ । मेलाको अनुमानित बजेट करिब ३५ हजार पाउण्ड छ । ३२ हजार आम्दानी हुने अपेक्षा गरिएको छ ।

तमुधिं यूकेले सन् २००९ देखि वर्षेनी लन्डनमा मेला गर्दै आएको छ । संयोजकले नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउने उद्देश्यले मेला गरिएको जनाए । मेलामा वयस्कका लागि प्रवेश शुल्क ५ पाउण्ड, १२ वर्ष मुनीका बालबालिकाका लागि तीन पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड र बस शुल्क १२ पाउण्ड तोकिएको छ ।

मेलामा गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रमुख अतिथीका रुपमा बोलाइएपनि भिजा कन्फर्म भइनसकेको संस्थाले जनाएको छ । अतिथी सत्कार संयोजक मेजर रि कृष्ण गुरुङले विशेष अतिथीहरु राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विभिन्न देशका राजदूत, कुटनीतिज्ञहरु गरि करिब तीन सय अतिथीको सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो । मेलामा सुरक्षा र स्वास्थ्य सेवा प्रवन्ध हुने आयोजकले जनाएका छन् । पत्रकारहरुको जिज्ञासा मेटाउंदै अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेला शुरु भएको ११ वर्षमा यसको उपलब्धि नेपाली कला, संस्कृति र भेषभूषा भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्नु रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै आफूहरु आउंदो साता केम्पटन पार्कलाई नेपालमय बनाउन आतुर रहेको बताए । मिडिया सेक्रेटरी रोहित गुरुङले सञ्चारकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्षले सञ्चारकर्मीहरुलाई स्वागत सम्मान गर्नुभयो । कार्यक्रममा आमा समूहकी सचिव यशोधा गुरुङले आमा समूहले काउन्टरमा टिकेट व्यवस्थापन गर्ने, सारीको एक स्टल राख्ने र संकलित रकम क्यान्सर पीडितलाई सहयोग गर्ने योजना रहेको जनाउनुभयो ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार २०:२६