नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

काठमाडौं: नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५र७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।

आव २०७५र७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उहाँको भनाइ छ ।

आव २०७४र७५ को तुलनामा आव २०७५र७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४र७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौँ उपत्यकामा आव २०७५र७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४र०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।


प्रकाशित | २६ श्रावण २०७६, आईतवार १३:४०