साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

काठमाडौँ : धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरीद बिक्री भए ।

बिहिबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरीदबिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए ।

यस्तै मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो । सो दिन कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से परिसूचकसामान्य अङ्कले वृद्धि भयो । परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरीदबिक्री भए ।

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो । कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।


प्रकाशित | २५ श्रावण २०७६, शनिबार १४:०८