लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत सकियो

काठमाडौं: लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा भएको छ । लुम्बिनी विकास कोषको आज बसेको बोर्ड बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजनाको कामका लागि झण्डै रु दुई सय अर्ब आवश्यक पर्ने तथा त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो ।

बैठकको अध्यक्षता कोषका अध्यक्षसमेत रहनुभएका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गर्नुभएको थियो । सो अवसरमा मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागी सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताउनुभयो ।

बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिनुभयो । बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरीसमेत आमन्त्रीत सदस्यको रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी क्षेत्रको विकास, लुम्बिनीमा पर्यटकको बसाइ लम्बाउनेलगायत प्रस्तावमाथि छलफल भएको भट्टराईले बताउनुभयो ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १८:५३