ढुक्क हुनुस, मेरो उम्मेदवारी अध्यक्षमा नै हो, कुनै स्वार्थ र बार्गेनिङको लागि होइन: कुल आचार्य

लन्डन – गैर आवासीय नेपाली संघ (एनआएनए ) को नवौ महाधिवेशन आगामी अक्टोवरमा काठमाडौंमा हुँदैछ । दुई वर्षमा एक पटक नेतृत्व परिवर्तन गर्ने एनआरएनएको विधान बमोजिम अक्टोवरमा हुन गइरहेको महाधिवेशनसँगै निर्वाचन समेत हुन गइरहेको छ । विशेष गरि महाधिवेशन नजिकिंदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिखेर एनसिसीको अधिवेशन धमाधम भइरहेको छ । एनसिसीको अधिवेशनले नयाँ नेतृत्व र केन्द्रीय प्रतिनिधि चयन गर्दैछ । एनसिसिबाट केन्द्रीय प्रतिनिधि छनौट भएर आइरहँदा विभिन्न पक्षबाट एनआरएनएमा नेतृत्वको दावेदारी प्रस्तुत भइरहेको छ । त्यसै मध्येको एक एनआरएनए उपाध्यक्ष कुल आचार्य हुनुहुन्छ । आचार्यले यसअघि नै आफनो अध्यक्षको दावेदारी प्रस्तुत गरिसक्नुभएको छ ।

आगामी निर्वाचनमा अध्यक्षमा उठ्ने तयारीमा जुट्नु भएको आचार्यले बुधबार लन्डनस्थित नेपाली पत्रकारसँग परामर्श गर्नुभयो । लन्डनस्थित नेपाली पत्रकारहरुलाई निवासमै बोलाएर आचार्यले परामर्श गर्नुभएको हो । आगामी नेतृत्वको लागि के कसरी अगाडि बढ्न सकिन्छ ? भनेर पत्रकारको राय सुझाव लिन उचीत ठानेर परामर्श गरेको आचार्यले बताउनुभयो । अध्यक्षका उम्मेदवार आचार्यले पत्रकार सामू आफनो उम्मेदवारीको विषयमा प्रष्ट पार्ने प्रयास गरेको बताउनुभयो ।

‘आफूले आगामी नेतृत्वको दावेदारी प्रस्तुत गरिरहँदा आफूमाथि फैलाइएका भ्रमलाई चिर्न आवश्यक ठानेर पनि पत्रकारसँग परामर्श गरेको हुँ’, आचार्यले विश्व सन्देशसँग कुराकानी गर्दै भन्नुभयो, ढुक्क हुनुस, मेरो उम्मेदवारी अध्यक्षमा नै हो, कुनै स्वार्थ र बार्गेनिङको लागि होइन ।’

विश्वभरीबाट सबैले साथ र सहयोग गर्ने बचन दिएको र साथीभाईहरुको मागअनुसार मात्र आफू नेतृत्वको लागि अगाडि बढेको आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘मैले एक्लो रुपमा अगाडि बढ्न खोजेको होइन, समग्र एनआरएनको मागअनुसार नेतृत्वको लागि अगाडि बढेको हो । त्यसमा कसैले हल्का रुपले लिनुभएको छ भने त्यो भ्रम हो भ्रममा नपर्नुस, मेरो उम्मेदवारी अध्यक्षमा नै हो ।’  आचार्यले आफनो दावेदारीलाई कतीपयले स्वार्थ र बार्गेनिङको लागि भन्दै भ्रम फैलाउने कार्य गरेकोप्रति आपत्ति समेत जनाउनुभयो । आचार्यले थप्दै भन्नुभयो, ‘घमण्ड नगरीकन सिकेर समाजमा केहि गर्छु भनीरहँदा कसैले भ्रमको खेती गरिरहनु आवश्यक छैन ।’

आगामी नेतृत्वको लागि अगाडि बढिरहँदा तपाईका एजेन्डा के -के हुन  भन्ने प्रश्नमा आचार्यले आफूले छिटै घोषणपत्रमार्फत एजेन्डा सार्वजनीक गर्ने बताउनुभयो । एनआरएनए नागरिकता कार्यान्वयन अहिलेको मुख्य एजेन्डाको रुपमा अगाडि बढेको बढाउँदै एनआरएनका समग्र पक्षलाई समेटेर घोषणापत्र तयार भइरहेको समेत जानकारी गराउनुभयो । सबै एनसिसीको अधिवेशन सम्पन्न भएपछि सबै साथीहरुको भावनालाई समेट्ने गरि घोषणापत्र तयार गर्ने आचार्यको भनाइ छ

अध्यक्षमा नै तपाईको उम्मेदवारी किन ? भन्ने अर्को प्रश्नमा आचार्यले एनआरएनमा हासिल गरेको लामो अनुभव अझ बेलायत जस्तो संस्थामा गरेको काम र अनुभव, एनआरएनमा पुर्याएको योगदानले आफनो उम्मेदवारी अपरिहार्य रहेको बताउनुभयो । एनआरएन केही ब्यक्तीको बन्न नसक्ने, संस्थागत परिपाटीमा अगाडि बढाउनुपर्ने र त्यसका लागि ब्यक्तीगत भन्दा नीतिगत रुपमा हेर्नुपर्ने उहाँले बताउनुभयो । एनआरएन एउटा संस्था भएकाले यहाँ संस्थागत परिपाटी बसाल्न आवश्यक रहेको भन्दै आचार्यले त्यसको लागि आफू सक्षम रहेको बताउनुभयो ।

त्यस्तै, तपाईको एनआरएनमा केहि ब्यक्तीसँग टकरावका कारण अर्को कार्यकालमा नेतृत्वमा आफूलाई सुरक्षित गर्न अध्यक्षमा उम्मेदवारीको कुरा गरिरहनु भएको छ भन्ने सुनीन्छ नी ? भन्ने अर्को प्रश्नमा आचार्यले आफनो कोही ब्यक्तीसँग पनि टकराव नभएको बताउनुभयो । उहाँले एनआरएनए गैर आवासीय नेपालीको साझा संस्था भएकाले ब्यक्तीको भन्दा संस्थागत नीतिको पछाडि लाग्नुपर्ने विचार ब्यक्त गर्नुभयो । ‘मेरो ब्यक्तीगत रुपमा सबैसँग राम्रो सम्बन्ध छ, तर संस्थागत कमीकमजोरीलाई भने मैले जहिल्य पनि औंला उठाउने गरेको छु’, आचार्यले भन्नुभयो ।

एनआरएनएको वर्तमान नेतृत्व र कार्यसमितिप्रति पूर्व अध्यक्ष शेष घले नेतृत्वमा शूरु भएका प्रोजेक्ट सम्पन्न गर्न नसकेको, आर्थिक भार बढाएको भन्दै आलोचना भइरहेको छ नी ? के त्यसको जिम्मेवारी तपाईले पनि लिनु पर्दैन ? भन्ने अर्को प्रश्नमा आचार्यले वर्तमान कार्यसमितिले धेरै राम्रा र उदाहरणीय कार्य गर्न सफल भए पनि केहि पदाधिकारीबाट भने गल्ती पनि भएको बताउनुभयो । उहाँले संस्थामा भइराख्नु भएको सिईयो राजेश राणालाई निकालीनु गलत भएको बताउनुभयो । आचार्यले भन्नुभयो, ‘एउटै संस्थाको दुई सिईयो हुने अवस्था आउँनु गलत हो र थियो भन्ने विषयमा मैले बैठकमै नोट अफ डिसेन्ट लेखेको हुँ । आज एउटै संस्थामा दुई जना सिईयो हुँदा आर्थिक भार बढेको छ, यसको जिम्मेवारी गल्ती गर्नेले लिनुुपर्छ ।’

संंस्थाभित्र कसैले स्वार्थ लिएर आउँदाको परिणाम संस्थाले अहिले भोगीरहेको भन्दै आचार्यले आगामी दिनमा त्यस्ता कमीकमजोरी र गल्ती हुन नदिन आफू सचेत रहेको समेत बताउनुभयो । आचार्यले आफनै नेतृत्वमा एनआरएनएले थालनी गरेका शख्खमूल पार्क सरकारलाई हस्तान्तरण भइसकेको बताउँदै लाप्राकमा प्राविधिक कठिनाईको कारण भएको ढिलाईलाई असफल भनीहाल्नु उचिन नहुने तर्क गर्नुभयो । ‘लाप्राकमा हावापानी र मौसमका कारण प्रयास गर्दागदै पनि केहि कामहरु पूरा हुन नसकेका हुन’, उहाँले भन्नुभयो, ‘अब चाँडै लाप्राक पोजेक्ट हस्तान्तरणा गछौ ।’

तपाईले अध्यक्षमा दावेदारी प्रस्तुत गरिहँदा कस्ता ब्यक्तीहरुलाई समेट्नुहुन्छ ? भन्ने प्रश्नमा आचार्यले विश्वभरीका गैर आवासीय नेपालीले विश्वास गर्ने, संस्थामा योगदान गरेका, संस्थालाई अगाडि बढान सक्ने समावेशी, रामा ब्यक्तीहरुलाई समेट्ने तयारी भइरहेको बताउनुभयो । त्यस्तै, आचार्यले आफूलाई एनआएनका अग्रजहरुको साथ र सहयोग रहेको समेत बताउनुभयो । ‘सबैको साथ र समर्थन पाएकाले सबै अग्रजहरुको सम्मान, भावनालाई बुझेर अगाडि बढिरहेको छु’, उहाँले भन्नुभयो । साथै अन्तमा आचार्यले संस्थालाई उदाहरणीय रुपमा काम गर्न सक्छु भन्ने उच्च मनोबलका साथ अगाडि बढिरहेकोले आफनो उम्मेदवारी अध्यक्षमा भएको दोहोर्याउँदै भ्रममा नपर्न समेत सबैमा आग्रह गर्नुभयो ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १८:०३