त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण ८० प्रतिशत सम्पन्न

काठमाडौं: चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महीनामा सम्पन्न हुने भएको छ । सडक क्षेत्रमा परेका घर भत्काएपछि स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिलेको गतिमा काम भए निर्माण सम्पन्न हुन लामो समय नलाग्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

“सडकको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको छ”, आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले भन्नुभयो । बाँकी काम अहिले धमाधम भइरहेको छ । चार वर्ष पहिले ठेक्का सम्झौता भए पनि लामो समयसम्म विभिन्न अवरोधका कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।

तेह्र किलोमिटर लामो सडक मापदण्डभन्दा कम चौडाइमा निर्माणको काम भइरहेको छ । बाइस मिटरको मापदण्ड भए पनि कुनै कुनै ठाउँमा १० मिटर मात्र पनि चौडाइ कायम भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । थानकोट बजार, कालीमाटी, सोल्टीमोड, सतुङ्गललगायत स्थानमा मापदण्डभन्दा कम चौडा सडक निर्माण भइरहेको छ । यीबाहेक पहिले नै चौडाइ बढी भएका वा सार्वजनिक जग्गा भएका ठाउँमा मापदण्डअनुसार चौडाइ कायम भएको उहाँले बताउनुभयो ।

कतिपय साँघुरा सडकमा काम गर्दा ढल र पाइप हाल्न गाह्रो भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । अहिले काम भइरहेको कालीमाटीदेखि सोल्टीमोडसम्मको सडकमा ढल हाल्न समस्या भएको छ । उहाँले भन्नुभयो, “चौडाइ पर्याप्त भएका सडकमा जसरी काम गर्न साँघुरा सडकमा सकिँदैन ।” सडक छेउमा घर भएका घरधनीले घर र जग्गाको मुआब्जाको माग गर्दा सडक निर्माण अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको हो । श्रेष्ठका अनुसार सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन नसक्दा सडक निर्माणमा ढिलाइ भएको हो । “विद्युत्, खानेपानी, वन कार्यालयलगायतले सडकमा रहेका संरचना हटाउन तदारुकता देखाउने गरेका छैनन्”, इन्जिनीयर श्रेष्ठले भन्नुभयो ।

त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक निर्माणको जिम्मेवारी चार निर्माण कम्पनीलाई दिइएको थियो । विसं २०७२ असारमा तीन र असोजमा एउटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मेवारी दिइएको हो । ती सबै कम्पनीको सम्झौता अवधि गत असारमा नै सकिएको छ । ‘बज्रगुरु बिरुवा सिएम जेभी’ले ७० प्रतिशत काम सम्पन्न गरेको छ भने ‘शैलुङ शर्मा कान्छाराम जेभी’ले ८० प्रतिशत काम सम्पन्न गरेको छ । ‘लुम्बिनी शैलुङ साप जेभी’ले ८५ प्रतिशत काम सम्पन्न गरेको छ । काठमाडौँमा पाँच, ललितपुरमा चार र भक्तपुरमा एउटा सडक तथा पुलको निर्माण शुरु भएको थियो । तीमध्ये अधिकांशमा निर्माण सुस्त वा ठप्प छ । निर्माणका क्रममा रहेकामध्ये त्रिपुरेश्वर–नागढुङ्गा र चाबहिल–साँखु सडकको काम भइरहेको छ । रासस


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार २०:००