आईसीसी टी–ट्वान्टी विश्वकप छनोट: नेपालको पहिलो जित

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २० बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए । योसंगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

यस्तै ओपनरद्वय ज्ञानेन्द्र र प्रदिप ऐरीले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे । पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको साझेदारीको कीर्तिमान बनाएका हुन् । यसअघि मंगलबार कतारविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए । मल्ल टी(ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने पाँचौ खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, विनोद भण्डारी, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

यस्तै नेपालका लागि विनोद भण्डारीले अविजित १३ तथा प्रदिप ऐरीले १२ रन बनाए । शरद भेषवाकर ३ रनमा अविजित रहदा दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भए । मलेसियाका लागि मुहमद स्याहदादले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो ।

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १र१ विकेट लिए । जितसंगै नेपालले २ खेलबाट २ अंक जोडेको छ । र, नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो । मलेसियाको यो पहिलो हार हो । पहिलो खेलमा मलेसियाले कुवेतलाई हराएको थियो । दोस्रो स्थानको मलेसियाको २ अंक छ । अब नेपालले कुवेतसँग शनिबार र आइतबार सिंगापुरसँग खेल्नेछ । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।


प्रकाशित | ८ श्रावण २०७६, बुधबार १२:१७