एजेन्सी : भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बर्मिङघममा भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । बंगलादेशका लागि शकिब अल हसनले ६६ तथा मोहमद साइफुदिनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
भारतविरुद्ध खेलसंगै शकिबले एकै विश्वकपमा ५ सय बढी रन र १० बढी विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । यस्तै बंगलादेशका सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए ।
भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयाले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । भारतका रोहित शर्माले शतकीय इनिङस खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । योसंगै रोहित कम खेलमा सर्वाधिक चाँडो ५ शतक बनाउने खेलाडी बने । उनले विश्वकपको १५ इनिङ्समा ५ शतक बनाएका हुन् ।
यस्तै ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय ईनिङ्स खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १/१ विकेट हात पारे । जितसंगै भारतले ८ खेलबाट १३ अंक जोडेको छ । र, भारत तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशले ८ खेलबाट ७ अंक जोडेको छ ।
प्रकाशित | १८ असार २०७६, बुधबार ०८:०४