विश्वकप क्रिकेट: बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी:  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । साउथह्याम्पटनमा हुने खेलमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

द रोजबल क्रिकेट मैदानमा बंगलादेश जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ । अफगानिस्तानविरुद्धको खेल बंगलादेशका लागि निकै महत्वपूर्ण छ । बंगलादेशलाई सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । तर, स्पिन बलरलाई फाइदा पुग्ने मैदानमा बंगलादेशलाई अफगानिस्तानले चुनौती दिन सक्नेछ । त्यसैले रशिद खान जस्ता स्तरिय स्पिनर भएको अफगानिस्तानसँग बंगलादेश केहि शतर्क भएर खेल्नेछ ।

यता, अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ । अफगानिस्तान जारी विश्वकपमा जितविहीन एक्लो टिम हो । अफगानिस्तान प्रतियोगिताबाट बाहिरीसकेको छ । ६ खेलमा पराजय व्यहोरीसकेको अफगानिस्तान बंगलादेशलाई हराएर विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ । जसका लागि अफगानिस्तानलाई रशिद खान जस्ता स्पिन बलरले सहयोग गर्नेछन् । दुईबीचको पछिल्लो पाँच भेटमा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले ३ खेलमा जित निकालेको छ भने अफगानिस्तानले २ खेल जितेको छ ।


प्रकाशित | ९ असार २०७६, सोमबार ०९:५२