एनआरएनए र अबको नेतृत्वको सवाल

सोनाम लामा

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा गर्ने तय भएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन नजिकिएसँगै नेतृत्वको खोजी गर्ने क्रम शूरु भएको छ । महाधिवेशनको मिति घोषणा गरिएसँगै एनआरएनमा चुनाव लाग्नु स्वभावीक पनि हो । अहिले विभिन्न एनसिसीको अधिवेशन भइरहेको छ । यसै सन्दर्भमा अहिले नेतृत्वको विषयले निकै चर्चा पाइरहेको देखिन्छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । राम्रो भनेको भिजन भएको, एनआरनएनलाई बुझेको, अनुभवी, संस्था र राज्यलाई योगदान गर्न सक्ने, काम गर्न सक्ने तथा बोलीमा भन्दा कामलाई बढी प्राथमिकता दिने नेतृत्व अहिलेको आवश्यकता छ ।

संस्थाको तल्लो तहदेखि काम गर्दै आएको र आफनो स्वार्थ भन्दा बढी संस्थाको लागि योगदान गर्न सक्ने वा चाहाना भएको ब्यक्ती नेतृत्वमा आउनुपर्छ । तर पदको लागि विभिन्न पार्टीगत प्यानल बनाएर, पैसा खर्च गरेर अर्थात भोट किनेर आउँने जो कोही ब्यक्तीले चुनाव जिते पनि केहि काम गर्न सक्दैन भन्ने कुराको पुष्टि भइसकेको छ । त्यस्तै यतिखेर संस्थामा इमानदार र पारदर्शीताको पनि त्यत्तीको आवश्यक महसुस गरिन थालीएको छ । त्यसकारण संस्थालाई प्लेट बनाएर प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका नेतासम्म पहुँच बढाउँदै आफनो ब्यक्तीगत स्वार्थ पूर्ति गर्नु वा विभिन्न देशमा घुम्नु मात्र नेतृत्वको काम होइन । यतिकै लागि मात्र हो भने नेतृत्वमा हानाथाप गर्नु आवश्यक देखिन्न् । ठूलो कुरा नेतृत्वमा गएपछि के गर्ने भन्ने स्पष्ट भिजन हुनुपर्छ । अर्को कुरा संस्थालाई सही सदुप्रयोग गरेर प्रवासमा बस्ने गैर आवासीय नेपालीको हितमा बढी केन्द्रित हुनुपर्छ । नेतृत्वमा आउने भन्दा संस्थाको लागि के कती काम गरियो र योगदान पुर्याइयो भन्ने कुरा महत्वपूर्ण हो भन्ने लाग्छ । कसैको स्वार्थ पूरा गर्नको लागि एनआरनएन संस्था एउटा प्लेट बन्न सक्दैन । संस्थामा काम गरेको अनुभव, क्षमता र भिजनलाई आधार बनाएर अबको नेतृत्व चयन गर्नुपर्छ । विशेष गरि एनआरएनए पूर्व अध्यक्ष शेष घलेले ल्याउनुभएको भिजन २०२० एन्ड वियोण्डको आधारमा संस्थालाई अगाडि बढाउनुपर्छ । साथै हामी कसैले पनि आफनो कार्यक्षमता र अनुभवलाई भुल्नु हुँदैन । एकै चोटी माथि पुग्ने वा नेतृत्व लिने भन्दा संस्थालाई आजसम्म मेरो योगदान के कती रह्यो ? भन्ने कुरालाई पनि मनन गर्नुपर्छ । संस्थालाई कसरी स्थायीत्व दिने र संस्थागत गर्ने तथा बलियो बनाउनेतर्फ ध्यान दिन सकिए मात्र संस्थालाई फाइदा मिल्छ । अन्यथा संस्थाको नाममा केहि ब्यक्तीलाई फाइदा मिल्न संस्थालाई मिल्नेछैन ।

अबको एनआरएनएको नेतृत्वमा आउने नाममा कसैले पनि आफनो पदीय मर्यादा र दायित्वलाई भुल्नु हुँदैन । संस्थामा सबैको पालो आउँछ । तर धैर्य गर्न पनि जान्नुपर्छ । एकैवाजी माथि पुग्न खोज्दा संस्थालाई पनि केहि दिन नसकिएला भन्ने तर्फ ध्यानु दिनुपर्छ । अर्को कुरा संस्थामा जोसुकै ब्यक्तीले पनि नेतृत्वको लागि महत्वकांक्षा राख्न सक्नुहुन्छ । तर एकैवाजी नेतृत्वमा आउन खोज्नु भने न्यायोचीत देखिन्न् । नेतृत्वको लागि वर्तमान अध्यक्षले यो कार्यकालमा काम गर्न सकिएन पुन एक पटक नेतृत्व गर्ने मनसायको कुरा ब्यक्त गरिरहनु भएको बुझिएको छ । वर्तमान नेतृत्वले पूरा गर्न नसक्नु भएको संस्थागत योजना आफू पछि आउने नेतृत्वलाई सहयोग गरेर पुर्याउन सकिन्छ भन्ने लाग्छ । किनकी संस्थागत रुपमा काम गर्नको लागि नयाँ आउँने नेतृत्वलाई पनि स्पेस दिनुपर्छ । काम गर्न नसक्नु आफनो कमजोरी हो । तर काम गर्न नसकेको बहानामा संस्थामा योगदान पुर्याएको र जाने ठाउँ कही नभएको ब्यक्तीलाई बन्धक बनाउन हुँदैन भन्ने मेरो तर्क रहँदै आएको छ । किनकी वर्तमान नेतृत्वलाई त्यही जाने बाटो नभएकै कारणले सबैले सहयोग गरेर नेतृत्वमा आएको कुरा भुल्नु हुँदैन । यदी हुँदा पनि सबैले आआफनै ढंगले चल्ने हो भने अर्थात तीन जनाकै नेतृत्वमा दावी रहीरहने अवस्था आयो भने वैकल्पिक नेतृत्वको खोजी गर्न बाध्य हुनुपर्ने देखिन्छ । यहाँ कोही पनि कमजोर छैन भन्ने कुरा पनि सबैले मनन गर्नुपर्छ । त्यसैले नेतृत्वमा हानाथाप गरिए बलियो बैकल्पिक नेतृत्व स्वीर्कानुपर्ने अवस्था नहोस भन्नेतर्फ सबैमा सचेत गराउन चाहन्छु । संस्थालाई संस्थागत परिपाटी अपनाएर अगाडि बढाउने हो भने मात्र सबैले लाभ लिन सक्छ । अन्यथा सबैलाई नोक्सानी पुग्ने बाहेक अरु हुनेछैन ।

अहिले भनीएजस्तो संस्थागत परिपार्टी, विधी विधानलाई नाघ्ने र ब्यक्तीगत स्वार्थको लागि संस्थामा टाँसी रहने वा आउन खोज्नेप्रति गम्भिर चिन्तत मनन गर्दै वैकल्पिक शक्तीको खोजी गर्ने दिन नआओस भन्नेतर्फ पनि सजग गराउन चाहान्छ । एनाआरएनएमा शुरु गरिएको विज्ञ सम्मेलन, नेपाल सरकारसँग मिलेर गर्न लागिएको १० अर्ब लगानीलाई आगामी दिनमा कसरी विश्वभरीका नेपालीको लगानी ल्याउने र साझा बनाउने भन्नेतर्फ पनि सोच्नुपर्ने देखिन्छ । किनकी लगानी गर्ने विषय अगाडि बढिरहँदा नेतृत्वप्रतिको विश्वसनीयता पनि बढाउँन आवश्यक देखिने रहेछ भन्ने कुरा सबैले बुझदै र भोग्दै आएको कुरा हो । त्यसैले सबै साथीहरुलाई एकैवाजी माथि पुग्ने सपना नदेख्न अर्थात सबैलाई नेतृत्व गर्ने अवसर दिन र सही नेतृत्व चयनमा सबैको ध्यान जानु अहिलेको आवश्यक रहेको कुरा नभुल्न आग्रह गर्न चाहान्छु ।


प्रकाशित | ४ असार २०७६, बुधबार ०९:३६