विश्वकप क्रिकेट: अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको सोमरसेटमा बुधबार हुने खेलमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

काउन्टी ग्राउण्डमा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छ । निकै बलियो अष्ट्रेलिया चौंथो खेलमा तेस्रो जित निकाल्न चाहन्छ । तर, अण्डर डगको रुपमा रहदै आएको टिम पाकिस्तानसंग अष्ट्रेलियालाई पराजयको डर भने रहेको छ । त्यसैले अष्ट्रेलिया पाकिस्तानसंग सजग भएर मैदान उत्रनेछ ।

अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ । अष्ट्रेलिया तेस्रो खेलमा भारतसंग ३६ रनले पराजित भएको थियो । तालिकाको चौंथो स्थानमा रहेको अष्ट्रेलिया भारतसंगको हारलाई बिर्सदै जितको यात्रा कायम गर्न चाहन्छ । यता, पाकिस्तान विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ ।

पाकिस्तान अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आफुलाई शीर्ष चारको दाबेदारीको रुपमा प्रस्तुत गर्न चाहन्छ । दुई बीचको पछिल्लो भेटमा भने अष्ट्रेलिया बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले शतप्रतिशत जित निकालेको छ । पाकिस्तान उक्त हारलाई पूर्णविराम लगाउन चाहन्छ । तर, दुई टोलीलाई वर्षाको डर रहनेछ । काउन्टी ग्राउण्डमा वर्षा हुने सम्भावना रहेको छ । विश्वकपको ३ खेल वर्षाको कारण स्थगित भईसकेको छ ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ११:०२