नेपाल–भारत रेलसेवा सम्झौताका लागि वार्ता टोली गठन

नेपाल: भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सो टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधित्व समेत रहने जानकारी दिए । मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ०८:२५