दोलखा सुनखानीमा रहेको सोती बजारमा आगलागी : ४ घर जलेर नष्ट, करोडौको क्षति

दोलखा : कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा आइतबार बिहान आगलागी हुँदा पसलसहितको ४ ओटा घर जलेर नष्ट भएका छन् । अन्य दुईवटा घरमा पनि आंशिक क्षति पुगेको छ ।  राति साढे एकबजेदेखि लागेको आगो भिमेश्वर नगरपालिकाको दमकल, सुरक्षाकर्मीसहित स्थानीयबासीन्दाले बिहान ८ बजे नियन्त्रणमा लिएका थिए ।

सोती बजारमा रहेको घनश्याम उप्रेति, चित्रबहादुर खरेल, राजेन्द्र सेढाई र नारायणप्रसाद शिवाकोटीको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । त्यसैगरि पदमराज शिवाकोटी र विष्णु शिवाकोटीको घरमा आशिंक क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ ।

क्षति पुगेका घर मध्ये उप्रेतिको इलेक्ट्रोनिक पसल, खरेलको होटल, सेढाइको होटल र पसल सञ्चालनमा थियो  भने राजेन्द्र सेढाइको घरमा बासु खरेलले होटल सञ्चालन गर्नुभएको थियो । होटल र पसल सञ्चालन गरिएका घरहरुमा आगलागी हुँदा करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । आगलागीका कारण सुनखानीको ठकर्पुमा रहेको विद्या विकास बोर्डिङ स्कुलको पार्क गरिराखेको बा १३ च ३४८४ नम्बरको स्कुल बसमा समेत क्षति पुगेको छ । आगलागी कसरी भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार ०९:५२