ललितपुर महानगरपालिकाले अब पर्यटकका लागि विद्युतीय बस सञ्चालनमा ल्याउने

काठमाडौंः ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले अब विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको छ । महानगरले कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन गरिरहेको छ ।

यस वर्षको बजेटमा महानगरले पाँच करोड रुपैयाँ विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो । पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् । उहाँका अनुसार बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार १७:१४