गैर आवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारी

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गैर आवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको हो ।

‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छलफल भइरहेको छ ।’

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्रयाएर लगानी गरी सदुपयोग गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको विषय पनि उठिरहेकाले त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार हुनुपर्ने बताउनुभयो । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उहाँले भन्नुभयो, ‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’

पूर्ण रूपमा डिजिटल कारोबारमा जान आममानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उहाँले बताउनुभयो । त्यसका लागि राष्ट्र बैङ्कले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले राष्ट्र बैङ्कका कर्मचारीसँग बैङ्कहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । अझै पनि राष्ट्र बैङ्कका अनुगमन कर्मचारी भनेपछि बैङ्कहरू डराउनुपर्ने अवस्था रहेकाले त्यसमा सहज वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले लिएको आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताउनुभयो ।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो ।


प्रकाशित | ८ मंसिर २०७८, बुधबार ०८:३७