दक्षिण कोरियाको ‘सोजु’ अब नेपालमा नै उत्पादन हुने

काठमाडौं –  दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन हुने भएको छ । श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपाल र पी प्लस दक्षिण कोरियाको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो ।

बाँके जिल्लाको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टीलरीमा निकट भविष्यमा कोरियन मापदण्डको मदिरा सोजु उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

नेपाली अग्रज उद्योगी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल हो ।

दक्षिण कोरियामा विभिन्न व्यवसाय गर्दै आएका एनआरएन कुँवरका अनुसार दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने गर्दछन् । यो लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएकाले यही उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउन लागिएको कुँवरले बताउनु भयो ।

अहिले पनि नेपालमा दक्षिण कोरियाबाट सोजु आयात गरी बिक्री वितरण हुँदै आएको छ । कुँवरले निकट भविष्यमै हामीले सोजु नेपालमा उत्पादनगरी बजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा विदेश नजाने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने पनि बताउनु भयो ।

नेपालमा सोजुको उत्पादनका लागि पूर्व तयारी पूर्णरुपमै कोरियामा गरिएको छ । एनआरएनएका अगुवा समेत रहनु भएको कुँवरले थप्दै भन्नु भयो, ‘नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेका छौं ।’

नेपाली उपभोक्तामाझ गरिएको सर्वेक्षणमा उत्पादन गरिएको सोजुको स्याम्पल नतिजा उत्कृष्ट भएको र छिट्टै नेपाली बजारमा ल्याउने प्रतिज्ञा रहेको कुँवरको भनाई छ ।

दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन र स्वदेशमा नै रोजगार सृजना गर्नका लागि निरन्तर सक्रिय कुँवरले कोरियाको ठूलो कम्पनी लोट्टे ग्रुपलाई स्वदेशमा ल्याउनका लागि पनि सम्झौता गरिसकेका छन् ।

कोरियाको प्रख्यात चाउचाउ सिनलाम्यानलाई नेपाल भित्र्याएर बिक्रिबितरण गरिरहनु भएका कुँवरले आगामी दिनमा स्वदेशमा नै उक्त चाउचाउ उत्पादन गर्ने योजना बनाउनु भएको छ ।


प्रकाशित | २३ कार्तिक २०७८, मंगलवार १६:२६