हङकङबाट पठाइएको साढे दुई करोड वरावरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

काठमाडौं  – हङकङबाट पठाइएको साढे दुई करोड वरावरको २२४ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । एनआरआएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा द हङकङ एक्स सर्भीस मेन एसोसियसन (एचकेईएसए) अर्थात हङकङ पूर्व सैनिक संघले कोभिड-१९ सँग जुध्नका लागि पठाएको अक्सिजन कन्सनट्रेटर एनआरएनए आइसिसीमार्फत हस्तान्तरण गरिएको हो ।

एनआरएनएको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले, उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशक राजेश राणाले संयुक्त रुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भयो ।

सो अवसरमा प्रमुख संरक्षक घलेले अक्सिजन कन्सनट्रेटरको सही सदुप्रयोग गर्न आग्रह गर्नु भयो । कन्सनट्रेटरले विकट क्षेत्रका सर्वसाधारणहरुको स्वास्थ्य सेवामा थप टेवा पुग्ने उहाँले विश्वास ब्यक्त गर्नु भयो ।

बुधबार कन्सनट्रेटर मुस्ताङ जिल्लाको ठिनी हेल्प पोष्ट जोमसोमका लागि ३ थान, झारकोट हेल्प पोष्ट मुक्तीनाथका लागि ५ थान र दोलखाका ग्रामीण क्षेत्रका लागि २६ गरि ३१ थान हस्तान्तरण गरिएको हो । हालसम्म सल्यान, जुम्ला र हुम्लाका विकट क्षेत्रमा गरि ५० थान पठाइसकिएको जनाइएको छ ।

दोलखा जिल्लाको ग्रामीण क्षेत्रको वितरणको लागि राप्रपा प्रवास विभाग प्रमुख समेत रहनु भएको विजय खडका र राप्रपाका नेता सुन्दर खडकालगायतलाई हस्तान्तरण गरियो भने मुस्ताङको ठिनी हेल्प पोष्टको लागि कर्मा गुरुङ र झारकोट हेल्प पोष्टको लागि जाम्लिङ गुरुङलाई हस्तान्तरण गरिएको थियो ।  बाँकि अक्सिजन कन्सनट्रेटर नेपालका सबै प्रदेशका विकट क्षेत्रका हस्पिटल र स्वास्थ्य चौकीलाई वितरण गरिने जनाइएको छ ।

अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष समेत रहनु भएका त्रिलोक गुरुङले अक्सिजन कन्सनट्रेटर ग्वाङझाउ चीनबाट खरिद गरि पठाइएको बताउँदै रसुवा नाकामा महिनौ रोकिन जाँदा नेपाल पुग्न ढिलाई भएको बताउनु भयो । गुरुङले महावाणिज्यदूत हङकङको पहलमा नेपाल पुग्न सहयोग मिलेको पनि बताउनु भयो ।

त्यस्तै, त्रिलोक गुरुङले यसअघि पनि अर्बपति हिस्टर सन होतुङसँगको सहकार्यमा १ करोड वरावरको ४५० थान अक्सिजन सिलिण्डर र साढे सात करोड वरावरको स्वास्थ्य सामाग्रीहरु नेपाल पठाउनु भएको थियो ।


प्रकाशित | १७ कार्तिक २०७८, बुधबार २०:३२