गुल्मीमा फैलिएको झाडापखालाका कारण एक जनाको ज्यान गयो, १ सय ६० बढी बिरामी

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका ४ को दजाकोटमा फैलिएको झाडापखला अझै नियन्त्रणमा आउँन सकेको छैन । झाडापखालाका कारणा वडा नम्बर ४ दजाकोटका १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। झाडापखालाबाट बिरामी हुनेहरुको संख्या १ सय ६० पुगेको छ ।

मुसिकोटमा उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीका अनुसार बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा दुई जनालाई डिस्चार्ज गरिएको छ । थप एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचार गराइरहेको बताउनुभयो ।

सोमवारदेखि महामारीको जस्तै रुप लिएर फैलिएको झाडा पखलाको बिमार दुषित पानीकै कारण फैलिएको एक संस्थाले पुष्टि गरेको छ । मुसिकोट नगरपालिका –४ मा पर्ने दजाकोटका वासिन्दा ८५ घरधुरीले नुरखोला लालङदी मुहानको पानी अस्थाई रुपमा पाई बिच्छाएर तीन बर्ष अघिदेखि पिउँदै आएका थिए ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १०:०४